५ सय रुपैयाँबाट सुरु भएको सपना: आज ४५ जनालाई रोजगारी दिने उद्यमी

Sep 15, 2026 01:32 PM Merolagani



गाउँमा १०० किलोको भारी बोकेर उकाली-ओराली गर्ने एउटा तगडा युवा जब एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षा र रोजगारीको खोजीमा काठमाडौँ छिरेका थिए, उनीसँग न कुनै ठूलो पुँजी थियो, न त व्यापारिक घरानाको पृष्ठभूमि नै। तर, उनीसँग थियो, कठोर शारीरिक श्रम गर्ने क्षमता र आफ्नै देशमा केही गर्ने अठोट।

आजभन्दा करिब १२-१३ वर्षअघि हातमा जम्मा चार-पाँच सय रूपैयाँ बोकेर परम्परागत औजारहरू किन्दै व्यवसायको बिउ रोपेका पुष्प कार्की आज 'मोड्युलर होम डेकोर' का संस्थापक तथा सफल उद्यमी बनेका छन्।

काठमाडौँ भित्रिएपछि काम खोज्ने क्रममा उनी सुरुमा 'इन्डोर वुड बक्स' भन्ने फर्निचर वर्कसपमा छिरे। त्यहाँ ३-४ महिना काम गरेर फर्निचर निर्माण र सजावटको आधारभूत सीप सिकेपछि उनले आफ्नै बलबुतामा काम गर्ने आँट गरे। त्यतिबेला न्युरोड क्षेत्रमा आरबी कम्प्लेक्स, न्युरोड कम्प्लेक्स र रञ्जना ट्रेड सेन्टर जस्ता नयाँ व्यापारिक भवनहरू बन्दै थिए। कार्कीले तिनै भवनका पसलहरूमा फर्निचर र इन्टेरियर सजावटको कामबाट आफ्नै व्यवसाय सुरुआत गरे। बिस्तारै पसलहरूबाट सुरु भएको उनको यात्रा घर तथा आवास (होम फर्निचर) तर्फ मोडियो। आज उनी लक्जरी र पूर्ण रूपमा अत्याधुनिक 'मोड्युलर फर्निचर' निर्माणमा स्थापित भइसकेका छन्।

आजको समयमा नयाँ व्यवसाय सुरु गर्न लाखौँ-करोडौँको पुँजी चाहिन्छ भन्ने आम धारणा छ। तर कार्कीको कथा बिल्कुलै फरक छ। "मैले कुनै ठूलो व्यवसाय गर्छु, करोडौँ कमाउँछु भनेर योजना बनाएर लगानी गरेको थिएन," सुरुआती दिन सम्झँदै कार्की भन्छन्, "हातैले काठ काट्ने ३-४ वटा पुराना औजार किनेर काम सुरु गरेको थिएँ। डुबे त्यही ४-५ सय रूपैयाँ त डुब्ने हो, त्यसैको लगानी त हो भन्ने सोच थियो। तर इमानदार भएर काम गर्दै जाँदा ढुङ्गा खोज्दा देवता मिलेजस्तै भयो।" सुरुमा दुई-तीन वर्ष एक्लै र साना ठेक्कामा काम गरेपछि उनले अर्का साझेदारसँग मिलेर एक वर्ष फ्याक्ट्री चलाए। पछि आफ्नै एकल फ्याक्ट्री स्थापना गरी व्यवसायलाई परिस्कृत गर्दै लगे।

इमाडोलस्थित कृष्णमन्दिर क्षेत्रमा आउटलेट र फ्याक्ट्री सञ्चालन गरिरहेको उनको उद्योगमा आज ३५ देखि ४० जनाभन्दा बढीले प्रत्यक्ष स्यालरी र ठेक्कामा रोजगारी पाएका छन्। एउटा सामान्य युवाले आफ्नै देशमा पसिना बगाएर ४०-४५ परिवारको जीविकोपार्जनमा आधार बन्नु चानचुने उपलब्धि होइन। आगामी दिनमा काठमाडौँ उपत्यकाबाहिर पोखरा, चितवन जस्ता प्रमुख सहरहरूमा कम्तीमा ८ देखि १० वटा आउटलेटहरू स्थापना गर्ने लक्ष्यका साथ उनी अध्ययन र अनुसन्धानमा जुटिरहेका छन्।

नेपालमा पछिल्लो समय तीव्र रूपमा भइरहेको सहरीकरण र रियल स्टेट (आवास) क्षेत्रको विकासले फर्निचर उद्योगलाई थप उचाइ दिएको उनको विश्लेषण छ। कार्की भन्छन्, "संसारको आर्थिक कारोबारमा रियल स्टेट पहिलो नम्बरमा आउँछ। र, फर्निचर भनेको घर वा आवासको मुटु जस्तै हो। मानव शरीरमा मुटुबिना जीवन सम्भव नभएजस्तै घरमा भान्छा, खाट, डाइनिङ टेबल वा इन्टेरियर भएन भने बसाइ पूर्ण हुँदैन। हामी त्यही मुटुलाई सुन्दर र बलियो बनाउने काम गर्छौँ।" उनीहरूले केवल तयारी फर्निचर मात्र बेच्दैनन्, ग्राहकको घरको नाप र आवश्यकताअनुसार 'कस्टमाइज्ड' मोड्युलर फर्निचर पनि तयार पार्छन्। नेपालमा बनेका धार्मिक मन्दिर जस्ता केही विशेष फर्निचरहरू विदेशमा बस्ने नेपालीहरूले समेत लैजाने गरेको उनी बताउँछन्।

नेपालबाट वार्षिक ४ देखि ५ लाख युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिइरहेको वर्तमान अवस्थाप्रति कार्की चिन्तित छन्। नेपालको स्टार्टअप इकोसिस्टम संसारकै उत्कृष्ट र सहज रहेको उनको अनुभव छ। "चिनियाँ वा अन्य विकसित देशमा नयाँ काम गर्न हजारौँ मान्छेसँग प्रतिस्पर्धा गर्नुपर्छ, तर नेपालमा नयाँ सोच (कन्सेप्ट) लिएर आउने हो भने प्रतिस्पर्धा नै छैन," कार्की दाबी गर्छन्, "म जम्मा एसएलसी पास गरेको मान्छेले ४० जनालाई रोजगारी दिन सक्छु भने उच्च शिक्षा (डिग्री) हासिल गरेका युवाहरूले प्रमाणपत्र बोकेर विदेश जानुको सट्टा कम्तीमा ८० जनालाई रोजगार दिने सोच किन नबनाउने?" उनका अनुसार समस्या राज्य वा समाजमा भन्दा पनि युवाहरूको सोच्ने शैली (माइन्डसेट) मा छ। विदेशमा गएर जुठो भाँडा माझ्न वा कडा परिश्रम गर्न तयार हुने, तर आफ्नै देशमा सानो कामबाट सुरुआत गर्न लाज मान्ने प्रवृत्तिले गर्दा नेपालीहरू पछाडि परेका हुन्। "व्यवसायमा निरन्तरता, तल्लीनता र एकाग्रता (फोकस) चाहिन्छ। आफू स्पष्ट भएर लागेपछि नहुने केही छैन," कार्कीले नयाँ उद्यमीहरूलाई उत्प्रेरित गर्दै भने।

पहाड पल्टाउने हत्केला र ५ सयको सपना

पहाडको उकालोमा १०० किलोको भारी काँधमा हालेर हिँडेका ती पाइलाहरू जब काठमाडौँको सडकमा ओर्लिए, तिनमा कुनै ठूलो सपनाको बोझ थिएन, केवल इमानदार पसिना बगाउने अठोट थियो। एसएलसीको परीक्षा सकिएपछि गाउँका अधिकांश साथीहरू पासपोर्ट बनाउने र खाडीको भिसा पर्खने धुनमा थिए। तर पुष्प कार्कीको मनले अर्कै बाटो रोज्यो- न विदेश जाने मोह, न कसैको अधीनमा रहेर जागिर खाने चाहना।

काठमाडौँका गल्लीहरूमा काम खोज्दै जाँदा उनी एउटा फर्निचर वर्कसपमा पुगे। त्यहाँका केही महिनाको सिकाइले उनलाई एउटा बाटो देखायो। खल्तीमा जम्मा चार-पाँच सय रूपैयाँ थियो। त्यही रकम लिएर उनी बजार गए र काठ काट्ने, तास्ने ३-४ वटा पुराना परम्परागत औजार किने। मनमा एउटै साधारण हिसाब थियो—"यदि यो व्यवसाय डुब्यो भने पनि त्यही ५ सय रूपैयाँ न डुब्ने हो! गुमाउनका लागि मसँग अरू के नै छ र?"

त्यतिबेला आजको जस्तो आधुनिक विद्युतीय मेसिनहरू थिएनन्। हातैले काठ काट्नुपर्थ्यो, हातैले घोट्नुपर्थ्यो। न्युरोडका बन्दै गरेका कम्प्लेक्सहरू आरबी कम्प्लेक्स, रञ्जना ट्रेड सेन्टरका धुलाम्मे कोठाहरूमा पुष्पले दिनरात पसिना बगाए। गाउँमा गोरु जोतेको, ढुङ्गा बोकेको र पहाडसँग जुधेको अनुभव भएका उनीका लागि शहरको यो काम कुनै ठूलो 'सङ्घर्ष' नै लागेन। अरूले दुःख मान्ने कामलाई उनले अवसरका रूपमा लिए। उनी भन्छन्—"जसले उठ्नु र बस्नुलाई नै सङ्घर्ष मान्छ, उसले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन।" कामप्रतिको इमानदारी र निरन्तरताले बिस्तारै फल दिन थाल्यो। ५ सयको औजारबाट सुरु भएको काममा दुई-तीन महिनापछि ८-१० हजारका साना मेसिनहरू थपिए। पछि साथीसँग मिलेर फ्याक्ट्री खुल्यो, अनि केही वर्षमै उनको आफ्नै एकल उद्योग स्थापित भयो।

आज उनी 'मोड्युलर होम डेकोर' का मालिक हुन्। इमाडोलको कृष्णमन्दिर नजिकै रहेको उनको विशाल शोरुम र फ्याक्ट्रीमा आज दर्जनौँ मेसिनहरू गुनगुनाउँछन्। जुन हातले एकदिन ५ सय रूपैयाँको औजार समातेका थिए, तिनै हातहरूले आज ४०-४५ जना मजदुर र कालिगडहरूको चुल्हो बाल्ने रोजगारी दिएका छन्। उनी आफ्ना उत्पादनहरूलाई केवल काठ र सन्डुक मात्र मान्दैनन्, घरको 'मुटु' मान्छन्। मान्छेको शरीरमा मुटुको जुन महत्त्व छ, आधुनिक घरमा फर्निचर र सजावटको त्यही महत्त्व रहेको उनी बताउँछन्।

आज पनि जब उनी युवाहरूलाई प्रमाणपत्र बोकेर भिसाको लाइनमा बसेको देख्छन्, उनको मन अमिलो हुन्छ। उनी मुस्कुराउँदै आफ्नै शैलीमा भन्छन् "नेपालमा त सम्भावनाको सगरमाथा छ! चीनमा गएर एउटा नयाँ काम गर्छु भन्यो भने पाँच हजार जनासँग प्रतिस्पर्धा गर्नुपर्छ, तर नेपालमा एउटा नयाँ कन्सेप्ट ल्यायो भने मान्छे एक्लै अगाडि बढ्न सक्छ। समस्या सरकार वा वातावरणमा होइन, हाम्रै सोचमा छ। विदेशमा गएर अरूको जुठो भाँडा माझ्न तयार हुने, तर स्वदेशमा आफ्नै हातले काम गर्न लजाउने सोचलाई परिमार्जन गर्नैपर्छ।" उनी थप्छन् "म एसएलसी पास गरेको मान्छेले ४० जनालाई काम दिन सक्छु भने, डिग्री पढेकाहरूले देशमै मान्छेलाई रोजगार दिने सोच किन बनाउँदैनन्?"

५ सय रूपैयाँको सानो औजार, बलियो अठोट र अविरल पसिनाबाट सुरु भएको पुष्प कार्कीको यो कथाले हामीलाई यही सिकाउँछ, सफलता पाउनका लागि न ठूलो पुँजी चाहिन्छ, न त ठूलो डिग्री नै। केवल चाहिन्छ त एउटा स्पष्ट सोच, निरन्तरको प्रयास र आफ्नै माटोप्रतिको अगाध विश्वास।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।