बुधबार बजारमा बिक्री चाप बढ्नुमा मौसमसम्बन्धी त्रासले पनि भूमिका खेलेको लगानीकर्ता ललित ढुङ्गानाले बताए। मौसम पूर्वानुमानलाई लिएर फैलिएको हल्लाले लगानीकर्तामा त्रास बढ्दा बिक्री चाप आएको हो। यसको प्रभाव लामो समयसम्म नपर्ने उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ। बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने तथा देशका अधिकांश भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना पनि औल्याइएको छ।
सम्भावित बाढी, पहिरो र हिमपातको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। यही अवस्थालाई दोस्रो बजारका कारोबारीले बजारमा बिक्री चाप बढाउने आधार बनाएको लगानीकर्ताको बुझाइ छ।
बजार घट्नु बढ्नु स्वभाविक प्रकृया हो । बजार किन घट्यो भन्न सहिदैन । दोस्रो बजारमा सम्भावित घटनाको त्रासलाई बढावा दिएर कारोबारीहरु खेल्ने शेयर बजार विश्लेषक तथा लगानीकर्ता सुवासचन्द्र ढुङ्गानाको बुझाईछ। बजारले भविष्यमा हुन सक्ने सम्भावित घटनालाई समेत पहिले नै अनुमान गरेर प्रतिक्रिया दिएको हुन्छ। बुधबारको गिरावटमा मौसमसम्बन्धी त्रासले पनि भूमिका खेलेको हुन सक्ने उनको अनुमान छ।
एक दुई कारोबारबाट फेरि बजार सुधार हुने अनुमान गर्न सकिन्छ। यो साता बजारमा सुस्तता देखिएपनि अर्को सातादेखि बजार सामान्य गतिमा फर्किन सक्ने ढुङ्गानाले मेरोलगानीसँग भने।
अर्काेतिर सरकारले लगातार घटिरहेको शेयर बजारलाई प्रोत्साहित गर्न नीतिगत रूपमा सकेसम्म लचकता अपनाएको छ। बजारलाई चलायमान बनाउन सरकारले २१ बुँदे कार्ययोजना पनि सार्वजनिक गरेको छ। तर, सरकारका पछिल्ला प्रयासअनुसार बजारले अपेक्षित गति लिन भने सकेको छैन।
सरकारले ल्याएको कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको विस्तार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानीकर्ता बढाउने तथा ब्रोकर र बजार पूर्वाधार सुधार गर्ने विषय समेटिएका छन्। त्यस्तै, प्रविधिमैत्री कारोबार, नियमन सुदृढीकरण र लगानीकर्ताको विश्वास बढाउने विषयलाई पनि प्राथमिकता दिइएको छ। बजारको पहुँच र तरलता विस्तार गर्दै निजी क्षेत्र तथा दीर्घकालीन लगानी आकर्षित गर्ने सरकारले लक्ष्य राखेको छ।
दोस्रो बजारमा लामो समयदेखि चर्चामा रहेको पूँजीगत लाभकरको विषयमा पनि सरकारले लचकता देखाएको छ। सरकाले बजेट मार्फत बढाएर लागू गरेकाे पूँजीगत लाभकर लगानीकर्ताको चर्को बिरोधकै कारण दुई महिनामै पुनरावलोकन गरेको छ। जसले बजारलाई सहज बनाउने र बजारमा कारोबार गर्ने लगानीकर्ताको सकृयता बढाउने व्यख्या गरिएको छ। सरकारले शेयर बजार चलायमान बनाउन चौतर्फी रुपमा सहजिकरण गर्दा पनि बजारमा निरन्तर दबाब परेको हो। बजारको यस्तो प्रवृतिलाई हेर्दा आम लगानीकर्ता भने अन्योलमा रहेका छन्।
नीतिगत सुधार भएको अवस्थामा पनि बजार दबाबमा पर्नु चिन्ताको विषय भएको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताएका छन् । बजारमा सीमित समूहको हालिमुहाली छ। त्यस्ता समूहले सकारात्मकभन्दा नकारात्मक सूचना प्रवाह गरेर बजारमा प्रभाव पार्ने गरेको उनको आरोप छ।
यस्तो अवस्थामा आम लगानीकर्ता आत्तिएर निर्णय गर्न नहुने पाण्डेको सुझाव छ। बजारमा नीतिगत सुधार भएको, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर तुलनात्मक रूपमा सस्तो भएको उनको भनाइ छ। लगानीकर्ताले माग गरेका विषयमा सरकारले नीतिगत व्यवस्था गर्दै बजारलाई चलायमान बनाउन प्रयास गरिरहेको अवस्थामा क्षणिक अफवाहका आधारमा लगानीसम्बन्धी निर्णय गर्न नहुने पाण्डले बताए।