चर्चाकाे शिखरमा रहेको सर्ट सेलिङ र जोखिम व्यवस्थापन

Sep 27, 2026 06:03 AM Merolagani



पछिल्लो समय सर्ट सेलिङको विषय चर्चाकाे शिखरमा रहेको छ। सोसँगै सरकारले पनि बजारमा इन्ट्राडे र सर्ट सेल जस्ता औजारहरु ल्याउने तयारी गरेको छ।

नेपाल धितोपत्र बोर्डले नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३ ल्याएको छ। जसमा इन्ट्राडे कारोबारसँगै सर्ट सेलिङका सम्बन्धमा जोखिम व्यवस्थापन र बजार परिपक्वतालाई ध्यानमा राखी निम्न अवधारणा तथा नीतिगत व्यवस्था प्रस्ताव गरिएको छ। नेपालको दोस्रो बजार हालसम्म पूर्णतया डेलिभरी आधारित प्रणालीमा रहेको हुँदा प्रस्तावित प्रणालीको प्रारम्भिक चरणमा पहिले खरिद–पछि बिक्री गर्ने प्रकृयालाई सुरु गरिने प्रस्ताव गरेको हो। प्रारम्भिक चरणमा सर्ट सेलिङलाई खुला नगरिने स्पष्ट संकेत बोर्डले देखाएको छ।

 

 

बोर्डले अन्तर्राष्ट्रिय बजारहरूको अनुभवलाई विश्लेषण गर्दै नेपालमा अन्तरदिवसीय कारोबार र सर्ट सेलिङलाई एकैपटक नगरी छुट्टाछुट्टै चरणबद्ध रूपमा लागू गर्नुपर्ने अवधारणापत्रले ठहर गरेको छ। वर्षैसम्म एकतर्फी बजारमा मात्रै अभ्यस्त भएका लगानीकर्ताहरुले बजारमा अन्तराष्ट्रिय स्तरको पूर्वाधार सहित विकल्पहरु ल्याउनु पर्नेमा जोड दिइएको छ।

सर्ट सेलिङ भनेको के हो?

सर्ट सेलिङ भनेको आफूसँग नभएको शेयर पहिले बेच्ने र पछि बजार मूल्य घटेपछि किनेर फिर्ता गर्ने व्यवस्था हो। यसका लागि लगानीकर्ताले शेयरधनी वा अन्य स्रोतबाट शेयर उधारो लिनुपर्छ।

उदाहरणका लागि कुनै कम्पनीको शेयर मूल्य ५०० रुपैयाँ छ। लगानीकर्ताले एक हजार कित्ता शेयर उधारोमा लिएर ५ लाख रुपैयाँमा बेच्न सक्छ। केही समयपछि सोही शेयरको मूल्य ४०० रुपैयाँमा झरेमा एक हजार कित्ता ४ लाख रुपैयाँमा किनेर उधारो लिएको शेयर फिर्ता गर्न सकिन्छ। यसरी खर्च कटाएर एक लाख रुपैयाँसम्मको नाफा हुन सक्छ। तर शेयरको मूल्य घट्नुको सट्टा बढेर ७०० रुपैयाँ पुग्यो भने सोही एक हजार कित्ता शेयर किन्न ७ लाख रुपैयाँ आवश्यक पर्छ। यस अवस्थामा दुई लाख रुपैयाँसम्मको नोक्सानी लगानीकर्तालाई हुनसक्छ। सोही कारण सर्ट सेलिङमा नाफा सँगै नोक्सानीको पनि जोखिम रहेको हुन्छ।

घट्दो बजारमा पनि कमाउने अवसर

हाल नेपालको बजारमा सामान्यतया मूल्य बढेपछि मात्र लगानीकर्ताले नाफा कमाउने सक्छन। सर्ट सेलिङ मार्फत हुने कारोबारमा भने मूल्य घट्ने अनुमान गर्ने लगानीकर्ताले पनि कारोबार गर्न सक्नेछन्। बजार वा कुनै कम्पनीको शेयर मूल्य घट्ने सम्भावना देख्ने लगानीकर्ताले शेयर उधारो लिएर बेच्न सक्छ। पछि मूल्य घटेपछि किनेको शेयर फिर्ता गर्न सक्छ। यसले बजारमा लगानीका थप विकल्प सिर्जना गर्छ। विशेषगरी बजार घट्दो अवस्थामा पनि कारोबार गर्ने अवसर प्राप्त हुन्छ।

कस्ता लगानीकर्ता बढी लाभान्वित हुन्छन?

सर्ट सेलिङ मार्फत हुने कारोबारमा स्टकको मूल्य घट्ने अनुमान गर्ने लगानीकर्ता लाभान्वित हुन सक्छन्। त्यसबाहेक ठूलो परिमाणमा शेयर राख्ने संस्थागत लगानीकर्ताले आफ्नो लगानीको जोखिम घटाउन पनि प्रयोग गर्न सक्छन्। उदाहरणका लागि कुनै लगानीकर्तासँग ठूलो परिमाणमा शेयर छ। छोटो अवधिमा उक्त शेयरको मूल्य घट्न सक्ने जोखिम देखियो भने लगानीकर्ताले सर्ट कारोबारमार्फत केही जोखिम सन्तुलन गर्न सकिन्छ। यसले लगानीको जोखिम व्यवस्थापनमा पनि सहयोग पुर्याउन सक्ने देखिन्छ।

सर्ट सेलिङको अर्को महत्त्वपूर्ण पक्ष भनेको मूल्य निर्धारण हो। बजारमा कुनै कम्पनीको शेयरको मूल्य धेरै बढेको छ। लगानीकर्ताले सर्ट कारोबार गर्न सक्छन्। यस्तो गर्दा बजारमा सकारात्मक धारणा मात्र नभई नकारात्मक धारणा पनि बनाउन सक्ने देखिन्छ। यसबाट माग र आपूर्तिको सन्तुलनमा सुधार आउन सक्छ। कारोबार बढ्दा बजारमा तरलता पनि बढ्न सक्छ। यसले गर्दा कम्पनीको वास्तविक मूल्य पत्ता लगाउने सहयोग हुने सक्ने बुझिन्छ।

सर्ट सेलका जोखिम

सर्ट सेलिङमा सबैभन्दा ठूलो जोखिम भनेको नै मूल्य बढ्नु हो। सामान्य बजारमा खरिद गरेको शेयरमा लगानीकर्ताले मूल्य घट्दा आफ्नो पूँजी नै गुमाउने जोखिम हुन्छ । तर सर्ट सेलिङमा शेयरको मूल्य कति बढ्छ भन्ने सीमा हुँदैन। त्यसैले घाटा पनि ठूलो हुन सक्छ। उदाहरणका लागि ५०० रुपैयाँमा सर्ट गरिएको शेयर एक हजार रुपैयाँ पुग्यो भने लगानीकर्ताले ठूलो घाटा बेहोर्नुपर्छ। मूल्य अझ बढ्दै गएमा घाटा पनि झनै बढ्दै जान्छ।

त्यसैगरी, धेरै लगानीकर्ताले एउटै कम्पनीको शेयर घट्ने अनुमान गरेर सर्ट कारोबार गरेका छन्। तर सकारात्मक समाचार आएर मूल्य तीव्र रूपमा बढ्न सक्छ। घाटा कम गर्न सर्ट कारोबार गर्ने लगानीकर्ताले शेयर किन्न थाल्छन्। धेरैले एकैपटक शेयर किन्न थालेमा माग झन् बढ्छ। यसले मूल्य थप माथि लैजान सक्छ। यस्तो अवस्थालाई सर्ट स्क्विज भनिन्छ। यसले सर्ट कारोबार गर्ने लगानीकर्तालाई ठूलो घाटा पुर्याउन सक्छ।

साथै, शेयर उधारो लिने व्यवस्था नगरी शेयर बेच्ने अवस्था सिर्जना भयो भने राफसाफका समयमा हुन सक्छ। बेचिएको शेयर समयमै उपलब्ध नहुँदा राफसाफमा समस्या हुनसक्नेछ। यसले बजारको राफसाफ प्रणालीमा दबाब पर्न सक्छ। त्यसैले पहिले शेयर उपलब्ध हुने सुनिश्चितता गर्ने अनि मात्रै बिक्री गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ।

जोखिम  व्यवस्थापनका लागि

सर्ट सेलिङ सुरु गर्नु पूर्व त्यस्तो प्रकृतिको कारोबारबाट हुन सक्ने सम्भावित जोखिम नियन्त्रणलाई सरोकारवालाले पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ। लगानीकर्ताले शेयर उधारो लिएको प्रमाणित भएपछि मात्र बिक्री गर्न पाउने व्यवस्था गर्ने। प्रत्येक कारोबारमा निश्चित परिमाणको धरौटी राख्ने व्यवस्था गर्ने। शेयरको मूल्य लगानीकर्ताको अनुमानविपरीत बढेमा थप धरौटी माग्न सक्ने व्यवस्था हुनुपर्छ। धरौटी नपुगेमा सम्बन्धित कारोबार स्वतः बन्द गर्ने व्यवस्था पनि गरिनु पर्ने हुन्छ।

त्यस्तै एउटै कम्पनीको शेयरमा अत्यधिक सर्ट कारोबार हुन नदिन सीमा तोक्नुपर्छ। कुन शेयरमा कति सर्ट कारोबार भइरहेको छ भन्ने जानकारी नियामक निकायले नियमित रूपमा निगरानी गर्नु पर्छ। यस्तो गर्दा अस्वाभाविक रूपमा सर्ट कारोबार बढेमा तत्काल अध्ययन गर्न सक्ने प्रणालीको विकास गरिनु पर्ने हुन्छ। बजारमा कृत्रिम रूपमा मूल्य घटाउने प्रयास हुन नदिन प्रभावकारी निगरानी पनि उत्तिकै जरुरी छ। त्यसैगरी, उधारो दिने र लिने दुवै पक्षको अधिकार र दायित्व स्पष्ट गरिनु पर्छ। फिर्ता गर्ने, कति शुल्क लाग्ने र मूल्य घटबढ हुँदा कसरी धरौटी व्यवस्थापन गर्ने भन्ने विषय स्पष्ट व्यवस्था गरिनु पर्ने हुन्छ।

नेप्से र सिडिएससीको तयारी

सर्ट सेलिङ सुरु गर्न हाल नेप्सेको कारोबार प्रणाली मात्र पर्याप्त हुदैन। नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणालीले सर्ट कारोबारलाई छुट्टै पहिचान गर्न व्यवस्था गरिनु पर्छ। नेप्सेले सामान्य बिक्री वा सर्ट सोल हो भन्ने तत्काल पहिचान गर्न सक्ने प्रणालीको विकास गरिनु पर्ने हुन्छ।

त्यसैगरी सिडिएस एन्ड क्लियरिङको राफसाफ तथा फछ्र्योट प्रणालीले उधारो लिएको शेयर, धरौटी, फिर्ता गर्नुपर्ने समय र कारोबार पूरा भए नभएको विवरण व्यवस्थित रूपमा राख्न सक्नुपर्छ। शेयर उपलब्ध नभएमा तत्काल जानकारी दिने संरचनागत पूर्वधारको विकास गरिनु पर्छ ।

ब्रोकरको जोखिम व्यवस्थापन क्षमता

ब्रोकरले लगानीकर्ताको धरौटी, कारोबारको आकार र सम्भावित घाटा निरन्तर निगरानी गर्नुपर्छ। लगानीकर्ताले धान्न नसक्ने गरि ठूलो कारोबार गरेमा त्यसको पहिलो चरणको निगरानी ब्रोकर मार्फत नै गरिनु पर्छ। जोखिम नियन्त्रणका लागि प्रत्येक ब्रोकरसँग आधुनिक जोखिम व्यवस्थापन कारोबार प्रणाली हुनुपर्छ।

साथै, कम्पनीको शेयरमा अस्वाभाविक रूपमा सर्ट कारोबार बढेको छ कि छैन भन्ने कुरा वास्तविक समयमै पत्ता लगाउन सक्ने संयन्त्र बनाउनु पर्छ। जसमा सर्ट कारोबार, मूल्य परिवर्तन, कारोबार रकम र कारोबारको मात्रा एकैपटक विश्लेषण गर्न सक्ने प्रविधिको आवश्यक हुन्छ। बजारमा अस्वभाविक गतिविधि देखिएमा नियामकले तत्काल छानबिन गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय बजारबाट सिक्नुपर्ने पाठ

अमेरिका, बेलायत र हङकङजस्ता विकसित राष्ट्रको बजारमा सर्ट सेलिङ लामो समयदेखि प्रयोग हुँदै आएको छ। तथापि सर्ट कारोबारलाई पूर्ण रूपमा खुला गरिएको छैन। जहाँ शेयर पाउने, धरौटी, कारोबार सीमा, राफसाफ र बजार निगरानीका विभिन्न व्यवस्था छन्। अमेरिकामा सर्ट कारोबारसम्बन्धी विशेष नीतिगत व्यवस्था गरिएको छ। हङकङमा निश्चित योग्य शेयरमा मात्र सर्ट कारोबार गर्न पाउने व्यवस्था रहेको छ। बेलायतमा ठूलो परिमाणको सर्ट कारोबार बारेमा नियामकलाई जानकारी दिनुपर्ने व्यवस्था छ।

नेपालको शेयर बजार अझै विकासशील अवस्थामा छ। त्यसैले सर्ट सेलिङलाई एकैपटक कार्यान्वयनमा ल्याउनु हुदैन। यस्तो कारोबारलाई व्यवस्थापन गर्नको लागि नियामकले स्पष्ट नीतिगत व्यवस्था गरेरमा सुचारु पर्नु पर्ने हुन्छ।

सर्ट सेलिङ बजार घटाउने व्यवस्था होइन

सर्ट सेलिङलाई बजार घटाउने माध्यमको रुपमा मापै व्यख्या गर्ने गरेको पायन्छ। सही नियमन र पर्याप्त पूर्वाधार भएको अवस्थामा सर्ट सेलिङले बजारलाई चलायमान बनाउनेछ । बजारमा कारोबारको अवसर बढाउनेछ। तरलतामा सुधार गर्ने छ। साथै, शेयरको मूल्य निर्धारण प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्न सक्छ। घट्दो बजारमा पनि कारोबार प्रवृतिलाई गतिशिल गराउनु सर्ट सेलको मुख्य विशेषता हो।

त्यसैले नेपालमा सर्ट सेलिङ सुरु गर्नु अघि बजार निगरानी प्रणाली बलियो बनाउन आवश्यक छ। बजारमा हुने यस्तो प्रकृतिको कारोबार गराउने र निगरानी गर्ने पूर्वाधार तयार पार्नु पर्ने हुन्छ । नेपालको बजार निगरानी फितलो भएका कारणले लगानीकर्ताहरु बजारमा सम्भावना भन्दा जोखिम बढाउने पाे हो कि भन्ने लगानीकर्तामा आशंका देखिन्छ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।