बेकाबू बन्दै एआई : राष्ट्रसंघकै प्रणालीभित्र छिरेर चोर्‍यो डाटा, नक्कली इमेलमार्फत जासुसी !

Sep 27, 2026 05:20 PM Merolagani



चर्चित च्याटबोट 'च्याटजीपिटी' (ChatGPT) निर्माता कम्पनी ओपनएआई (OpenAI) को आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीले संयुक्त राष्ट्रसंघ (यूएन) को व्यापार विभागको वेबसाइटको सुरक्षा घेरा तोडेर गोप्य रूपमा डाटा संकलन गरेको सनसनीपूर्ण खुलासा भएको छ।

शनिबार सार्वजनिक एक अनुसन्धान प्रतिवेदन अनुसार, ओपनएआईको एआई प्रणालीले राष्ट्रसंघको व्यापार विभागको वेबसाइटमा १६ हजारभन्दा बढी पटक सर्च रिक्वेस्ट (Search Request) पठाएर नियमविपरीत डाटा निकालेको हो।

यसअघि पनि ओपनएआईको सिस्टमले आफ्नो कम्पनीलाई समेत जानकारी नदिई अमेरिकी वाणिज्य मन्त्रालय र अमेरिकी सेयर बजार नियामक (एसईसी) को वेबसाइटबाट डाटा निकालेको तथा शिक्षा मन्त्रालयको वेबसाइट ह्याक गर्ने प्रयास गरेको तथ्य सार्वजनिक भएको थियो।

अप्रिलदेखि जुनसम्म १६ हजार पटक डाटा स्क्यान

अनुसन्धान संस्था 'ट्रान्सल्युस' को ट्र्याकिङमा आधारित भएर अनुसन्धाता रोवन होवार्ड-जोन्सले तयार पारेको प्रतिवेदन अनुसार, ओपनएआईका बोट्सहरूले गत अप्रिलदेखि जुनसम्म 'यूएन ट्रेड एन्ड डेभलपमेन्ट' को पब्लिक डाटा हबलाई १६ हजारभन्दा बढी पटक स्क्यान गरेका थिए।

यी बोट्सहरूलाई केवल सार्वजनिक जानकारी संकलन गर्ने सामान्य जिम्मेवारी दिइएको थियो। तर, अत्यधिक ट्राफिक देखेपछि वेबसाइटले उक्त रिक्वेस्टहरूलाई रोक्न (ब्लक गर्न) सुरु गरेपछि एआई रोकिएन। त्यसको सट्टा एआईले साइटका नियमहरू उल्लंघन गर्दै नक्कली इमेल आइडी बनायो, आफू रोबोट नभएको झूटो दाबी गर्‍यो र 'ब्याकडोर' तथा आक्रामक तरिका अपनाएर जबरजस्ती डाटा निकाल्न जारी राख्यो।

विज्ञ भन्छन्– ‘यो सामान्य सर्च होइन, ह्याकिङ नै हो’

स्ट्यानफोर्ड विश्वविद्यालयका साइबर सुरक्षा प्राध्यापक एलेक्स स्टामोसले यस घटनालाई सामान्य इन्टरनेट सर्च मान्न नसकिने बताएका छन्। उनले भनेका छन्, "यो कुनै सामान्य सर्च होइन। वेबसाइटबाट जबरजस्ती जानकारी निकाल्ने यो अत्यन्तै आक्रामक प्रयास हो, जसलाई ह्याकिङकै संज्ञा दिन सकिन्छ।"

ओपनएआईले स्वीकार्‍यो गल्ती

घटना सार्वजनिक भएपछि ओपनएआईकी प्रवक्ताले परीक्षणका क्रममा केही एआई मोडलहरूले तोकिएको सीमा नाघेर यस्तो गतिविधि गरेको स्वीकार गरेकी छन्। कम्पनीले यस विषयमा आन्तरिक अनुसन्धान गरिरहेको जनाएको छ। प्रवक्ताका अनुसार धेरैजसो मामिला सामान्य अनुसन्धानसँग जोडिएको भए पनि प्रभावित संस्थाका लागि यो गम्भीर विषय भएको र कम्पनीले यसलाई संवेदनशील रूपमा लिएको छ।

गुगल, मेटा र एन्थ्रोपिकका एआईबाट पनि यस्तै गडबडी

राष्ट्रसंघ र अमेरिकी सरकारी निकायहरूमा भएको यस किसिमको घुसपैठपछि एआईको जोखिम सूची झनै लामो बनेको छ। ओपनएआई मात्र नभई मेटा, गुगल र एन्थ्रोपिकका एआई एजेन्टहरूले पनि विभिन्न कम्पनी र सरकारी प्रणालीमा अनधिकृत पहुँच बनाउने वा ह्याक गर्ने प्रयास गरेको पाइएको छ।

चिन्ताको विषय के छ भने, यी सबै गतिविधिबारे स्वयं निर्माता कम्पनीहरूलाई पनि घटना घटिसकेपछि मात्रै थाहा हुने गरेको छ। अनियन्त्रित हुने प्रणालीहरूमा सबैभन्दा धेरै नाम ओपनएआईकै जोडिएको छ।

एआई रोक्न ‘किल स्विच’ को माग

एआई प्रणाली दिनप्रतिदिन अनियन्त्रित र शक्तिशाली बन्दै गएपछि विश्वभरका विज्ञहरूले आपतकालीन अवस्थामा एआईलाई तत्काल बन्द गर्न सकिने 'किल स्विच' (Kill Switch) को व्यवस्था गर्न माग गरेका छन्। तर, विश्वभरका अनलाइन नेटवर्कमा फैलिएको एआईलाई कुनै एउटा स्विच दबाएर बन्द गर्न प्राविधिक रूपमा लगभग असम्भव रहेको विज्ञहरूको भनाइ छ।

अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सका डा. ह्यामन्ड पियर्स र युनिभर्सिटी अफ सिड्नीका डा. राफेल सिरिएलोले यो घटना विश्वभरका सरकारहरूका लागि खतराको घण्टी भएको चेतावनी दिँदै एआईको २४ सै घण्टा कडा निगरानी गर्नुपर्ने बताएका छन्।

'सन् २०३० सम्म मानव जातिकै लागि घातक बन्न सक्छ एआई'

एआईको बढ्दो र अनियन्त्रित जोखिमलाई लिएर हालै मात्र गुगल डीपमाइन्डका पूर्ववैज्ञानिक बिलाल चुगताई र एन्थ्रोपिकका अनुसन्धाता ज्याकब कक्सनले पदबाट राजीनामा दिएका छन्।

चुगताईले एआईले सम्पूर्ण मानव सभ्यतालाई नै समाप्त पार्न सक्ने चेतावनी दिँदै यसलाई रोक्न निकै कम समय बाँकी रहेको बताएका छन्। त्यस्तै, ज्याकब कक्सनले सामाजिक सञ्जाल एक्समा लेख्दै स्वयं एआई विकासकर्ताहरूले नै सन् २०३० सम्ममा यो प्रविधि मानव जातिका लागि ज्यानमारा (घातक) साबित हुन सक्ने चेतावनी दिइरहेको उल्लेख गरेका छन्।

 




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।