बाढीका कारण चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानमा करिब ३५ वटा घरहरू बगेका छन् भने माछिखोला बजारमा समेत ठूलो क्षति पुगेको छ। बाढीले केरौंजा जाने झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीय बासिन्दाहरूको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पार्न गृहमन्त्री सुदन गुरुङसहितको टोली तथा सुरक्षा निकाय खटाइएको छ भने उद्धारका लागि हेलिकप्टर समेत परिचालन गरिएको छ।
यसैबीच, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकी नदीको यो बाढी त्रिशूली दोभानसम्मै पुग्न सक्ने र तटीय क्षेत्रहरूमा खतरा उत्पन्न हुन सक्ने जनाएका छन्। बाढीको बहाव निरन्तर घटबढ भइरहेकाले त्रिशूली दोभानसम्मका नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ सर्न विशेष अलर्ट जारी गरिएको छ।