बाढी प्रभावितलाई सामसङको राहत, बिग्रिएका उपकरण मर्मतमा १०० प्रतिशतसम्म छुट

Oct 12, 2026 12:12 PM Merolagani



बाढीबाट प्रभावित नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले सामसङ नेपालले विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ। यस अभियानअन्तर्गत बाढीका कारण क्षति पुगेका सामसङका मोबाइल फोन तथा घरायसी विद्युतीय सामानको मर्मत र आवश्यक परेमा नयाँ सामान फेर्न १०० प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको छ।

सामसङ नेपालले अक्टोबर ७, २०२६ मा जारी गरेको विज्ञप्तिअनुसार यो अभियान बाढी प्रभावित परिवारको आर्थिक भार कम गर्दै उनीहरूलाई दैनिक जीवनमा आवश्यक उपकरण पुनः प्रयोग गर्न सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको हो।

अभियानअन्तर्गत स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायत योग्य सामसङ उत्पादनमा छुट उपलब्ध हुनेछ। घरायसी विद्युतीय सामानका लागि घरमै पुगेर सेवा दिने व्यवस्था पनि गरिएको छ।

कम्पनीका अनुसार वारेन्टी अवधि बाँकी रहेका योग्य सामानको मर्मत तथा नयाँ सामान फेर्न आवश्यक परेमा १०० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। एकदेखि दुई वर्ष पुराना सामानमा ८० प्रतिशत र दुईदेखि पाँच वर्ष वा सोभन्दा पुराना घरायसी सामानमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। मोबाइल फोन तथा ट्याब्लेटमा भने एकदेखि दुई वर्ष पुरानालाई ८० प्रतिशत र दुईदेखि चार वर्ष पुरानालाई ७० प्रतिशतसम्म छुट दिइनेछ।

त्यस्तै, नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा सामानको कुल बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुने अवस्था आएमा मर्मतको सट्टा नयाँ सामान उपलब्ध गराउने विषयमा विचार गर्न सकिने कम्पनीले जनाएको छ।

 

यो सेवा नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत आसपासका जिल्लाका ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको हो।

विशेष मर्मत सेवा अभियान अक्टोबर २ देखि नोभेम्बर २, २०२६ सम्म नारायणघाट सर्भिस सेन्टर र काठमाडौँको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा सञ्चालन भइरहेको छ। योग्य सामसङ स्मार्टफोन तथा ट्याब्लेट भएका ग्राहकले आफ्ना उपकरण सिधै तोकिएका सेवा केन्द्रमा लगेर जाँच तथा मर्मत सेवा लिन सक्नेछन्।

बाढीका कारण क्षति पुगेका उपकरण पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने अपेक्षासहित कम्पनीले यो अभियान सञ्चालन गरेको जनाएको छ।