नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनी, तीन लघु जीवन बीमा कम्पनी तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत उक्त रकम संकलन भएको हो।
कुल बीमाशुल्कमध्ये ८ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ३२ अर्ब ५९ करोड ७३ लाख रुपैयाँ नवीकरण बीमाशुल्कबाट संकलन भएको छ। भदौ महिनामा मात्रै १४ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको तथ्याङ्कले देखाएको छ।
नेपाल लाइफको बीमाशुल्क संकलन १० अर्बभन्दा बढी
बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले दुई महिनामा १० अर्ब ५८ करोड ८ लाख रुपैयाँ संकलन गरेको छ। यो कुल संकलित बीमाशुल्कको करिब २५.६ प्रतिशत हो। नेपाल लाइफले प्रथम बीमाशुल्कबाट २ अर्ब ९ करोड रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ८ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ।
त्यस्तै, एलआईसी नेपालले ३ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ र हिमालयन लाइफले ३ अर्ब ५९ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनी सन नेपाल लाइफ रहेको छ। कम्पनीले ७७ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ।
बागमतीबाट मात्रै १९ अर्ब ५७ करोड बीमाशुल्क
प्रदेशगत आधारमा जीवन बीमा व्यवसाय बागमती प्रदेशमा केन्द्रित देखिएको छ। कुल बीमाशुल्कको ४७.४ प्रतिशत अर्थात् १९ अर्ब ५७ करोड २९ लाख रुपैयाँ बागमती प्रदेशबाट संकलन भएको छ।
लुम्बिनी प्रदेशबाट ५ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ, कोशी प्रदेशबाट ४ अर्ब ८८ करोड १४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ४ अर्ब १ करोड २४ लाख रुपैयाँ र मधेश प्रदेशबाट ३ अर्ब ५० करोड ४७ लाख रुपैयाँ संकलन भएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट २ अर्ब २२ करोड ४० लाख रुपैयाँ र कर्णाली प्रदेशबाट १ अर्ब १६ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। प्रदेशगत विवरणअनुसार कर्णालीमा सबैभन्दा कम बीमाशुल्क संकलन भएको देखिन्छ।
बीमालेख संख्याका आधारमा भने कोशी प्रदेशमा ८ लाख १३ हजार बीमालेख जारी भएका छन्। लघु जीवन बीमालेखको संख्याले यसमा योगदान गरेको छ। बागमती प्रदेशमा ६ लाख ४ हजार बीमालेख जारी भएका छन्।
सावधिक जीवन बीमामा बढी बीमाशुल्क
बीमा योजनाअनुसार सावधिक जीवन बीमामा सबैभन्दा बढी बीमाशुल्क संकलन भएको छ। यस योजनाबाट १९ अर्ब १५ करोड १९ लाख रुपैयाँ संकलन भएको छ। अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ७ अर्ब ५२ करोड ११ लाख रुपैयाँ र बालबच्चासम्बन्धी सावधिक बीमाबाट ५ अर्ब ८३ करोड १९ लाख रुपैयाँ संकलन भएको छ।
त्यस्तै, रूपान्तरित सावधिक जीवन बीमाबाट ४ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ, एकल बीमाशुल्कबाट १ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ र आजीवन जीवन बीमाबाट ८३ करोड ५८ लाख रुपैयाँ संकलन भएको छ। म्यादी जीवन बीमाबाट भने २६ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
यी विवरणले परम्परागत सावधिक जीवन बीमा योजनामा बीमितको सहभागिता उल्लेख्य रहेको देखाउँछन्।
लघु जीवन बीमाबाट ५८ करोड ९० लाख संकलन
सञ्चालनमा रहेका गार्डियन, क्रेष्ट र लिबर्टी गरी तीन लघु जीवन बीमा कम्पनीले भदौ मसान्तसम्म १९ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। परम्परागत जीवन बीमा कम्पनीहरूले जारी गरेका लघु जीवन बीमालेखबाट संकलित रकमसमेत जोड्दा यस क्षेत्रको कुल बीमाशुल्क ५८ करोड ९० लाख रुपैयाँ पुगेको छ।
यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सञ्चालनमा रहेको वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत ५५ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
समग्र तथ्याङ्कले जीवन बीमा क्षेत्रमा नवीकरण बीमाशुल्कको योगदान ठूलो रहेको देखाउँछ। साथै, कम्पनी तथा प्रदेशअनुसार बीमाशुल्क संकलनमा देखिएको अन्तरले जीवन बीमा व्यवसायको वितरण समान नरहेको पनि संकेत गर्छ।