प्राधिकरणको विवरण अनुसार बाढीबाट भएको क्षतिबापत अनुमानित बीमा दाबी रकम २० अर्ब ९० करोड रुपैयाँ रहेको छ । त्यसमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । यो कुल अनुमानित दाबी रकमको तुलनामा निकै कम हो ।
बीमा कम्पनीमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी दाबी परेको छ । उक्त कम्पनीमा १६१ बीमितबाट ६६ करोड ११ लाख ९५ हजार रुपैयाँको अनुमानित दाबी परेको विवरणमा उल्लेख छ । त्यसैगरी सानिमा जीआईसी इन्स्योरेन्समा १९२ बीमितको ३४ करोड ३२ लाख ४५ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा ४५९ बीमितको २६ करोड ५५ लाख ८६ हजार रुपैयाँको दाबी परेको छ ।सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २२९ बीमितको १७ करोड ५८ लाख १४ हजार रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६६ बीमितको १२ करोड ५३ लाख ८९ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।
भुक्तानीतर्फ भने शिखर इन्स्योरेन्सले सबैभन्दा बढी रकम भुक्तानी गरेको छ । कम्पनीले १९ करोड ८९ लाख तीन हजार रुपैयाँ भुक्तानी गरेको विवरणमा उल्लेख छ । त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ४९ लाख ६२ हजार रुपैयाँ, आईएमई प्रुडेन्सियल इन्स्योरेन्सले एक करोड १६ लाख ५३ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६७ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
सम्पत्ति बीमामा सबैभन्दा बढी दाबी
बीमालेखको प्रकार अनुसार हेर्दा सम्पत्ति बीमामा सबैभन्दा बढी दाबी परेको छ । सम्पत्ति बीमाअन्तर्गत ५७२ बीमितको ९५ करोड ७१ लाख ९८ हजार रुपैयाँको अनुमानित दाबी परेको छ । यस शीर्षकमा हालसम्म आठ करोड ६२ लाख ८३ हजार रुपैयाँ भुक्तानी भएको छ । त्यसैगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत १७४ बीमितको ४३ करोड ९७ लाख २६ हजार रुपैयाँको दाबी परेको छ । यसमा ३० लाख रुपैयाँ भुक्तानी भएको छ ।
मोटर बीमाअन्तर्गत सबैभन्दा धेरै एक हजार ६८ बीमितको २८ करोड ५० लाख ३४ हजार रुपैयाँको अनुमानित दाबी परेको छ । यस शीर्षकमा छ करोड सात लाख ४४ हजार रुपैयाँ भुक्तानी भएको छ।
परिवहन बीमा अन्तर्गत १०६ बीमितको २३ करोड ४० लाख ५९ हजार रुपैयाँको दाबी परेकोमा सात करोड ८२ लाख ७२ हजार रुपैयाँ भुक्तानी भएको छ । अन्य बीमाअन्तर्गत ४५५ बीमितको १५ करोड १० लाख तीन हजार रुपैयाँको दाबी परेको छ भने ७६ लाख ३० हजार रुपैयाँ भुक्तानी भएको छ ।स्वास्थ्य बीमा अन्तर्गत ५२ बीमितको दुई करोड ३९ लाख १४ हजार रुपैयाँको अनुमानित दाबी परेको विवरणमा उल्लेख छ । उक्त शीर्षकमा हालसम्म भुक्तानी भएको रकम उल्लेख गरिएको छैन ।
बीमा प्राधिकरणमा २०८३ असोज २८ गतेसम्म प्राप्त विवरणका आधारमा तयार गरिएको तथ्याङ्कले बाढीबाट भएको क्षतिबापत ठूलो रकमको बीमा दाबी परेको देखाएको छ । तर, प्रारम्भिक दाबीको तुलनामा हालसम्म भुक्तानी भएको रकम भने न्यून रहेको छ ।