भट्ट र अग्रवालको लफडाले हिमालयन रि-इन्स्योरेन्समा उच्च गिरावट : शेयर मूल्य आधा घट्यो, लगानीकर्ताको अर्बौँ स्वाह

Oct 28, 2026 05:36 PM merolagani



विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल संलग्न सम्पत्ति शुद्धीकरण तथा गैरकानुनी शेयर कारोबार प्रकरणका कारण हिमालयन रि-इन्स्योरेन्स लिमिटेड (HRL) को शेयर मूल्यमा म्यासिभ गिरावट आएको छ। 

कम्पनीका मुख्य योजनाकार तथा प्रवर्द्धकहरू नै कानुनी फन्दामा परेपछि बजारमा सिर्जना भएको अविश्वास र त्रासले हिमालयन रिको शेयर मूल्य उच्च विन्दुबाट आधाभन्दा बढी (५०.७४ प्रतिशत) ले घटेको हो। नेप्सेको पछिल्लो दैनिक कारोबार बन्द हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँमा सीमित भएको छ। कम्पनीको शेयर मूल्य हालै मात्र ४६२ रुपैयाँको न्यून विन्दु (Low)सम्म झरेको थियो।

कसरी सुरु भयो लफडा र पहिरो ?

कम्पनी स्थापनादेखि नै नीतिगत पहुँचका आधारमा लाइसेन्स हत्याएको र दोस्रो बजारमा अस्वाभाविक कारोबार चलाएको आरोप खेप्दै आएका दीपक भट्ट र शंकर ग्रुपका सुलभ अग्रवालविरुद्ध राज्यका निकायहरूले अनुसन्धान थालेपछि कम्पनीको संकट सुरु भएको थियो।

  • २०८२ चैत १९ गते:सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआईबीको समन्वयमा व्यवसायी दीपक भट्ट पक्राउ परे।
  • २०८२ चैत २१ गते:सोही प्रकरण र वित्तीय अपचलनको आशंकामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल समातिए।

धितोपत्र बोर्ड तथा अनुसन्धान निकायहरूको प्रतिवेदनले देखाएअनुसार, भट्ट र अग्रवाल समूहले उधारोमा ठूलो परिमाणमा शेयर खरिद गर्ने, रकम भुक्तानी नै नगरी शेयर खातामा सार्ने, र जगदम्बा स्टिल्सलगायतका कम्पनीबाट स्रोत नखुलेको रकम ट्रान्सफर गरी बजारमा 'कृत्रिम माग' सिर्जना गरेका थिए।

जब यो वित्तीय जालो बाहिरियो र मुख्य खेलाडीहरू थुनामा परे, तब कृत्रिम रूपमा उचालिएको बजार एकाएक तासको घरझैँ ढल्यो। प्राविधिक चार्टमा देखिएअनुसार विशेषगरी २०८२ चैत र २०८३ वैशाखको अवधिमा बजारमा अत्यधिक 'प्यानिक सेल' (आतङ्कपूर्ण बिक्री) देखियो। जहाँ ठूला लगानीकर्ता बाहिरिए भने उच्च मूल्यमा शेयर किनेका सर्वसाधारण लगानीकर्ता फस्न पुगे।

आजको तथ्याङ्क : ५०.७४% को पहिरो, १ हजार कित्तामै पौने ५ लाख नोक्सान

प्राविधिक चार्टअनुसार कुनै समय प्रतिकित्ता ९५० रुपैयाँको अल-टाइम हाई बनाएको कम्पनीको शेयर मूल्य भट्ट–अग्रवाल लफडापछि लगातार ओरालो लाग्दै आज ४६८ रुपैयाँमा अडिएको छ। यसरी कम्पनीको शेयर मूल्यमा प्रति कित्ता ४८२ रुपैयाँको भारी गिरावट आएको छ।

कारोबार भोल्युम सुक्यो, लगानीकर्तामा त्रास कायमै

चार्टले देखाएअनुसार चैत–वैशाखतिर ठूलो भोल्युमसहित भएको बिक्रीपछि पछिल्ला महिनाहरू (भदौ, असोज र कात्तिक) मा कारोबार रकम निकै सुकेको छ। शेयर मूल्य न्यून विन्दु ४६२ रुपैयाँ छोएर ४६८ रुपैयाँको वरपर घुमिरहँदा पनि नयाँ खरिदकर्ता आकर्षित हुन सकेका छैनन्।

भट्ट र अग्रवालविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहनु, कम्पनीको आन्तरिक रकम अपचलनबारे थप तथ्यहरू खुल्दै जानु र संस्थागत सुशासनमाथि नै गम्भीर प्रश्न उठ्नुले गर्दा आम लगानीकर्ता ‘पर्ख र हेर’ को त्रासमा छन्।

सीमित ठूला प्रवर्द्धकहरूको गैरकानुनी धन्दा र नियामकको आँखा छलेर गरिएको कृत्रिम कारोबारको मूल्य अन्ततः सर्वसाधारण लगानीकर्ताले आफ्नो आधाभन्दा बढी पूँजी गुमाएर चुकाउनुपरेको छ।