बाढी पूर्वानुमान महाशाखाले पूर्वसूचना जारी गर्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार नारायणी,बागमती,कमला,कन्काई र कोशी नदी जलाधार तथा तिनका सहायक नदीहरूमा वर्षाको प्रभाव बढी पर्ने देखिएको छ । वर्षाका कारण नदीको बहाव बढ्नुका साथै पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढी र तराईका केही स्थानमा डुबानको जोखिम रहन सक्नेछ ।
महाशाखाले हालको आँकलनअनुसार प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा माथि पुग्ने सम्भावना न्यून रहेको जनाएको छ । यद्यपि, वर्षाको वास्तविक मात्रा र नदीको अवस्थाअनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमानअनुसार बिहीबारदेखि नारायणी, कोशी, बागमती, कमला र कन्काई नदी जलाधारमा जलसतह सामान्य बढ्न थाल्नेछ । शुक्रबार यी जलाधार तथा तिनका सहायक नदीहरूमा मध्यमदेखि भारी वर्षा भई जलसतह उल्लेख्य रूपमा बढ्ने अनुमान छ । महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीमा भने जलसतह सामान्य बढ्ने देखिएको छ ।
शनिबार प्रमुख नदीहरूमा जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने महाशाखाको आँकलन छ । यद्यपि, नदीहरूले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको जनाइएको छ । कात्तिक १५ गते आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने र त्यसपछि बाढीको जोखिम क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।
यसैगरी, कोशी र नारायणी नदी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ । बिहीबार र शुक्रबार नारायणी, बागमती, कमला, कन्काई तथा कोशी जलाधारका पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने तथा तराईका केही क्षेत्रमा डुबान हुन सक्ने सम्भावना रहेको छ ।
कात्तिक १२,१३ र १४ गते पहाडी तथा चुरे क्षेत्रका साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नदी किनार तथा खोलानालाको आसपासमा बसोबास गर्ने, यात्रा गर्ने र जोखिमयुक्त क्षेत्रमा काम गर्ने सर्वसाधारणलाई मौसमको अवस्था बुझेर मात्र गतिविधि गर्न तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ ।