होटल तथा पर्यटन क्षेत्रका १९ वटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। बोर्डको विवरण अनुसार यी कम्पनीहरूले कुल ५ करोड ९७ लाख १३ हजार ९३० कित्ता शेयर निष्काशनको प्रस्ताव पेस गरेका छन्। जसअन्तर्गत सर्वसाधारणका लागि कुल ६ अर्ब ६० करोड १३ लाख ९३ हजार रुपैयाँबराबरको साधारण शेयर बजारमा ल्याउने तयारी गरिएको छ।
आवेदन प्राप्त भई हाल प्रारम्भिक समीक्षाको चरणमा रहेका कम्पनीहरूमा श्री एयरलाइन्स, होटल साब्रिना, स्वर्णिम होटल, माउन्टेन ग्लोरी, होटल इच्छा, एसियन होटल, बुढानीलकण्ठ हेरिटेज र नगरकोट रिसोर्ट लगायत रहेका छन्। यस चरणमा रहेका कम्पनीहरूले प्रस्ताव गरेको शेयर सङ्ख्या र रकममा ठूलो अन्तर देखिएको छ। जसमध्ये श्री एयरलाइन्सले प्रिमियम मूल्यसहित सबैभन्दा बढी १ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर निष्काशनको प्रस्ताव गरेको छ भने बुढानीलकण्ठ हेरिटेजले ४९ करोड ५० लाख रुपैयाँ, होटल साब्रिनाले ४७ करोड ४ लाख रुपैयाँ र एसियन होटलले ४२ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने प्रस्ताव गरेका छन्।
त्यस्तै, अकामा होटल र वर्णवास म्युजियम होटल पनि हाल धितोपत्र बोर्डको प्रारम्भिक समीक्षाको चरणमा रहेका छन्। जसमध्ये अकामा होटलले ४२ लाख ८५ हजार ८०० कित्ता शेयरबापत ४२ करोड ८५ लाख ८० हजार रुपैयाँबराबरको साधारण शेयर निष्काशनको प्रस्ताव गरेको छ। त्यसैगरी, वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी ३९ करोड ६० लाख रुपैयाँबराबरको पूँजी सङ्कलन गर्ने लक्ष्य राखेको छ।
अर्कोतर्फ, एपेक्स हस्पिटालिटी र ठमेल प्लाजा होटल एन्ड सुइट्स भने बोर्डले पठाएको टिप्पणीको जवाफ प्राप्त भइसकेको चरणमा पुगेका छन्। यी दुवै कम्पनीले समान २२ लाख ५० हजार कित्ताका दरले शेयर निष्काशनका लागि बोर्डमा प्रस्ताव पेस गरेका हुन्। यसैगरी, अन्नपूर्ण केबलकारले पनि ४३ लाख ४० हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ, जसमा कम्पनीबाट प्राप्त जवाफमाथि बोर्डले हाल समीक्षा गरिरहेको छ।
त्यसैगरी, मेट्रोपोलिटन होटल र होटल सारथीले पनि आईपीओ निष्काशनका लागि आफ्नो वार्षिक साधारण सभामार्फत प्रस्ताव पारित गराइसकेका छन्। यी कम्पनीहरू पनि सर्वसाधारणका लागि शेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिने अन्तिम तयारीमा रहेका छन्।
यसरी होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू दोस्रो बजार प्रवेशमा उत्साहित देखिनुले आम सर्वसाधारणका लागि लगानीका नयाँ र थप विकल्पहरू सिर्जना गरेको लगानीकर्ताहरूको बुझाइ छ। हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को दोस्रो बजारमा यस क्षेत्रका ८ वटा कम्पनीहरूको शेयर नियमित रूपमा कारोबार हुँदै आएको छ।