मार्क्स कि मोदी ? धर्मको नाममा भारतीय आर्थिक क्षेत्रमा अनौठोसँग फैलिइरहेको राजनीति

Nov 03, 2026 05:46 AM Merolagani



भारतमा दुर्गा पूजा भरखरै सकिएको छ । तर, दुर्गा पुजाको नाममा चलिरहेको अर्थ राजनीतिक विवाद सकिएको छैन, बरु झन झाँगिदैछ ।

योक्रम अहिले होइन, एक दशक अघि भारतको केन्द्रिय राजनीतिमा नरेन्द्र मोदीको उदयपछि शुरु भएको हो ।

त्यसैको निरन्तरता देवी दुर्गाको दर्शन गर्न निस्किएका बंगालीहरू यसपालि एउटा अर्को रोचक प्रतिस्पर्धाका साक्षी बने– कसका किताब बढी बिके, कार्ल मार्क्सका कि नरेन्द्र मोदीका ? मन्दिर र पूजा पण्डालको भीडबीच कम्युनिस्ट विचारधारा र हिन्दुत्वको राजनीति किताबका पानामार्फत आमनेसामने देखिए । भारतीय जनता पार्टीले करोडौँ रुपैयाँका किताब बिक्री भएको दाबी गर्‍यो भने कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) ले आफ्नो पुस्तक बिक्री दोब्बरभन्दा बढी भएको तथ्यांक सार्वजनिक गर्‍यो ।

 

यो केवल किताबको व्यापार थिएन, धर्म, राजनीति, विचारधारा र जनमतबीचको रोचक प्रतिस्पर्धा पनि थियो ।

भारतको पश्चिम बंगालमा दुर्गा पूजा केवल धार्मिक अनुष्ठान होइन । यो संस्कृति, सामाजिक सम्बन्ध, कला, साहित्य, अर्थतन्त्र र राजनीतिक अभिव्यक्तिको ठूलो सार्वजनिक उत्सव हो । लाखौँ मानिस पूजा पण्डाल घुम्छन्, साथीभाइसँग भेटघाट गर्छन्, नयाँ लुगा लगाउँछन्, मिठाई खान्छन् र किनमेल गर्छन् । विगत केही वर्षदेखि फरक दृष्य देखिदैँछ । देवी दुर्गाको दर्शन गर्न पुगेका मानिसका अगाडि राजनीतिक दलहरूले आफ्ना पुस्तक पसल सजाएका थिए।

एउटा पसलमा कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, लेनिन र चे ग्वेभाराका पुस्तक थिए। अर्कोमा नरेन्द्र मोदी, श्यामा प्रसाद मुखर्जी, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस), हिन्दुत्व र राममन्दिर आन्दोलनसम्बन्धी साहित्य । एउटै धार्मिक उत्सवको वातावरणमा दुई विपरीत राजनीतिक दर्शनका पुस्तकहरू बिक्री भइरहेका थिए।

यो दृश्यले एउटा गम्भीर प्रश्न जन्माएको छ– के बंगालमा धर्मको उत्सव राजनीतिक विचारधाराको बजार पनि बन्दै छ ? अनि मार्क्स र मोदीका किताब किन दुर्गा पूजाको भीडमा प्रतिस्पर्धा गरिरहेका छन् ? अनि यहि प्रतिस्पर्धा अर्थतन्त्रका अरु क्षेत्रमा पनि चलिरहेका छन्, चाहे बनारस होस कि ऋषिकेश, केरला होस कि वैष्णोदेवि हरेक ठाउँमा यो प्रतिस्पर्धा चलिरहेको छ । कतिपय ठाउँमा सुस्त भए पनि पश्चिम बंगाल, मुम्बईलगायतका क्षेत्रमा भने त्यो व्यापारमात्र छैन, राजनीतिक प्रतिद्धन्दिताकै रुप लिइरहेको छ ।

इण्डिया टुडेले प्रकाशित गरेको विश्लेषणअनुसार भाजपाले यस वर्ष दुर्गा पूजाका क्रममा पश्चिम बंगालमा दुई करोड रुपैयाँभन्दा बढीका किताब बिक्री भएको दाबी गरेको छ । पार्टीले राज्यभर करिब २,५०० पुस्तक पसल सञ्चालन गरेको बताएको छ, जसमध्ये २०० भन्दा बढी कोलकाता महानगर क्षेत्रमा थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवन र राजनीतिक यात्रासम्बन्धी पुस्तक तथा भारतीय जनसंघका संस्थापक श्यामा प्रसाद मुखर्जीको जीवनी बढी बिक्री भएको भाजपाको भनाइ छ। गत वर्ष करिब २० लाख रुपैयाँको बिक्री भएकोमा यसपटक १५ गुणाभन्दा बढी वृद्धि भएको पार्टीको दाबी छ।

भाजपाको साहित्य विभागका सप्तर्षि चौधरीकाअनुसार पार्टीले ४० जिल्ला संगठनलाई प्रतिजिल्ला करिब २ लाख ५० हजार रुपैयाँका किताब उपलब्ध गराएको थियो। यो मात्रै एक करोड रुपैयाँको वितरण हो। तर जिल्ला कार्यालयमा पठाइएका सबै किताब सर्वसाधारणलाई बिक्री भएका हुन् भन्ने प्रमाणित हुँदैन। केही कार्यकर्तालाई वितरण भएका हुन सक्छन्, केही संस्थाले थोकमा किनेका हुन सक्छन् र केही बिक्री नभई बाँकी रहेका पनि हुन सक्छन्।

यो भिन्नता महत्वपूर्ण छ। किनकि राजनीतिक दलले आफ्नो पुस्तक वितरणको आकारलाई जनताको वैचारिक समर्थनको प्रमाणका रूपमा प्रस्तुत गर्न सक्छन्। तर वितरण र वास्तविक पाठक संख्या एउटै कुरा होइन। 

मार्क्सवादीको पनि कम छैन बजारः बिक्री दोब्बरभन्दा बढी

भाजपाले करोडौँ रुपैयाँको बिक्री दाबी गरिरहँदा कम्युनिस्ट पार्टी (मार्क्सवादी) अर्थात् सीपीआई(एम) ले पनि आफ्नो पुस्तक बिक्रीमा उल्लेखनीय वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ।

एनडीटीभी र भारत टुडेको विवरणअनुसार सीपीआई (एम) ले कोलकातासहित १२ जिल्लाका पुस्तक पसलबाट ९८ लाख रुपैयाँभन्दा बढीका किताब बिक्री गरेको जनाएको छ। अघिल्लो वर्ष ती क्षेत्रमा बिक्री करिब ४८ लाख रुपैयाँ थियो। अर्थात् एक वर्षमै बिक्री झन्डै दोब्बर भएको छ। पार्टीले पछि राज्यभरको बिक्री करिब १ करोड ४७ लाख रुपैयाँ पुगेको जनाएको छ।

यो पसल केवल किताब बिक्री गर्ने ठाउँका रूपमा सीमित रहेन। पूजा अवधिमा पुस्तक पसल हटाउने प्रयास र तोडफोड भएको आरोपपछि यसले राजनीतिक चर्चासमेत पायो। सीपीआई(एम) नेता सुजन चक्रवर्तीले वामपन्थी पुस्तक पसलमध्ये २२७ वटालाई निशाना बनाइएको र १३ वटा बन्द गर्नुपरेको बताएका छन्। पार्टीले अवरोधका बाबजुद किताबको बिक्री बढ्नुलाई पाठकको चासो र समर्थनका रूपमा व्याख्या गरेको छ।

बंगालको दुर्गा पूजालाई केवल धार्मिक पर्वका रूपमा बुझ्नु अपूरो हुन्छ। यो बंगाली समाजको सामूहिक पहिचान, सांस्कृतिक अभिव्यक्ति र सार्वजनिक जीवनसँग गहिरोसँग जोडिएको छ।

दुर्गा पूजाका पण्डालहरूमा देवीका मूर्तिसँगै सामाजिक विषय, ऐतिहासिक घटना, वातावरण, महिला अधिकार, गरिबी र राजनीतिक विषयवस्तु पनि प्रस्तुत गरिन्छन्। कतिपय पण्डाल आफैँमा कलात्मक प्रदर्शनीजस्ता हुन्छन्। त्यसैले यहाँ धार्मिक उत्सव र सामाजिक बहसबीच स्वाभाविक सम्बन्ध देखिन्छ।

राजनीतिक दलहरूले यही सार्वजनिक स्थानको महत्व बुझेका छन्।

भाजपाले दुर्गा पूजा हिन्दुत्वको सांस्कृतिक व्याख्या जनतासम्म पुर्‍याउने अवसरको रुपमा उपयोग गरिरहेको छ । हिन्दू धार्मिक पहिचान, राममन्दिर आन्दोलन, आरएसएसको इतिहास र श्यामा प्रसाद मुखर्जीका विचारलाई बंगालको सांस्कृतिक परिवेशसँग जोडेर प्रस्तुत गर्नु उसको रणनीतिक महत्वको विषय हो।

अर्कोतर्फ, सीपीआई (एम) का लागि पुस्तक पसलहरू धर्मनिरपेक्षता, वर्गीय राजनीति, श्रमिक अधिकार, सामाजिक न्याय र वैज्ञानिक चेतनाको बहसलाई जीवित राख्ने माध्यम हुन्।

रोचक कुरा के छ भने मार्क्सवादी दर्शनले धर्मलाई सामाजिक र ऐतिहासिक दृष्टिले आलोचनात्मक रूपमा हेर्छ। कार्ल मार्क्सको धर्मसम्बन्धी चर्चित व्याख्या धर्मलाई दुःखमा परेको मानिसको अभिव्यक्ति र त्यसबाट मुक्ति खोज्ने चेतनासँग जोड्छ। तर त्यही मार्क्सवादी पार्टी दुर्गा पूजाको समयमा धार्मिक उत्सवकै बीचमा पुस्तक पसल राखेर आफ्नो विचार प्रचार गर्छ।

यसलाई धर्मप्रतिको विरोधाभासभन्दा पनि बंगालको सार्वजनिक सांस्कृतिक जीवनमा आफ्नो उपस्थिति कायम राख्ने राजनीतिक अभ्यासका रूपमा बुझ्नु उपयुक्त हुन्छ।

भाजपाले भने धार्मिक उत्सवलाई आफ्नो सांस्कृतिक र राजनीतिक विचारधारासँग जोड्न खोजेको देखिन्छ। यस अर्थमा दुवै दलले दुर्गा पूजाको विशाल जनसम्पर्कलाई वैचारिक पहुँच विस्तार गर्ने अवसरका रूपमा उपयोग गरिरहेका छन्। 

बंगालमा मार्क्स र मोदीको प्रतिस्पर्धा किन यति अर्थपूर्ण छ ?

बंगालको राजनीतिक इतिहासमा वामपन्थी विचारधाराको विशेष स्थान छ। सन् १९७७ देखि २०११ सम्म करिब ३४ वर्ष पश्चिम बंगालमा वाममोर्चाको शासन रह्यो। ज्योति बसु र बुद्धदेव भट्टाचार्यजस्ता नेताहरूले बंगालको राजनीतिक, सामाजिक र प्रशासनिक संरचनामा लामो प्रभाव पारे।

तर सन् २०११ मा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले वाममोर्चालाई सत्ताबाट हटायो। त्यसपछि बंगालमा राजनीतिक प्रतिस्पर्धाको स्वरूप बदलिँदै गयो। भाजपाले विस्तारै आफ्नो संगठन र जनाधार बढायो। सन् २०२१ को विधानसभा निर्वाचनमा भाजपा प्रमुख विपक्षी शक्तिका रूपमा स्थापित भयो।

२०२६ को सत्ता परिवर्तनपछि पहिलो दुर्गा पूजामा पुस्तक बिक्रीको यो प्रतिस्पर्धा झन् राजनीतिक अर्थ बोकेको छ। भाजपाका लागि आफ्नो वैचारिक र सांस्कृतिक पहुँच विस्तार भएको देखाउने अवसर छ भने वामपन्थीहरूका लागि चुनावी पराजयपछि पनि आफ्नो सामाजिक र बौद्धिक आधार बाँकी रहेको प्रमाणित गर्ने अवसर।

यहाँ एउटा महत्वपूर्ण पक्ष के हो भने चुनावमा पराजित हुनु र समाजमा विचारधाराको प्रभाव समाप्त हुनु एउटै कुरा होइन। वामपन्थी पार्टीले चुनाव जित्न नसक्ला, तर मार्क्स, लेनिन वा चे ग्वेभाराका पुस्तक पढ्ने पाठक रहन सक्छन्। त्यसैगरी भाजपाको संगठनात्मक विस्तारसँगै मोदी, मुखर्जी र हिन्दुत्वसम्बन्धी साहित्यप्रति चासो बढ्न सक्छ। तर पुस्तक बिक्रीको तथ्यांकले मात्रै बंगालका नागरिक कुन विचारधारातर्फ बढी आकर्षित छन् भन्ने निष्कर्ष दिन सक्दैन।

पुस्तक पसलले पार्टी र सर्वसाधारणबीच प्रत्यक्ष सम्पर्कको अवसर दिन्छ। पाठकले किताब किन्नुअघि कार्यकर्तासँग कुरा गर्न सक्छन्, नयाँ विचारसँग परिचित हुन सक्छन् र राजनीतिक बहसमा सहभागी हुन सक्छन्।

यस अर्थमा पुस्तक पसल राजनीतिक दलका लागि सानो प्रचार कार्यालय, सांस्कृतिक केन्द्र र जनसम्पर्क मञ्च पनि हो।

वामपन्थी पुस्तक पसलमा कार्ल मार्क्सको Das Kapital, मार्क्स र एंगेल्सको The Communist Manifesto, लेनिनको The State and Revolution तथा चे ग्वेभाराको The Motorcycle Diaries जस्ता पुस्तक बढी बिक्री भएका थिए। भाजपाका पसलमा दीनदयाल उपाध्यायको Integral Humanism, श्यामा प्रसाद मुखर्जीसँग सम्बन्धित पुस्तक र विनायक दामोदर सावरकरको Hindutva उपलब्ध थिए।