भट्टसहित विभिन्न साक्षीहरूको करिब ६ हप्ताको बयानपछि मंगलबार फैसला आएको हो । गत साता अदालतमा अप्रत्याशित बयान दिँदै भट्टले काफ्लेको शव टुक्राटुक्रा पारेको र फ्याँकेको स्वीकार गरेका थिए । तर, उनले श्रीमतीको हत्या भने आफूले नगरेको र उनी शंकास्पद अवस्थामा मृत फेला परेको दाबी गरेका थिए ।
अन्तिम बहसका क्रममा अभियोजन पक्षले भट्टको कथालाई ‘बनावटी र पागलपनपूर्ण’ भन्दै त्यसलाई विश्वास नगर्न जुरीलाई आग्रह गरेको थियो ।
जुलाई २०२४ मा मानासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी काफ्लेको शव अहिलेसम्म फेला परेको छैन ।
सहायक कमनवेल्थ महान्ययधिवक्ता सारा सामीले भट्टले ममता काफ्लेको हत्या गरेर उनको शव टुक्राटुक्रा पारेर फोहोरजस्तै फ्याँकेको बताइन् ।
“उनले भर्जिनियाको लुरेमा रहेको ल्यान्डफिललाई ममताको अन्तिम विश्रामस्थल बनाए । उनको परिवारका लागि ममता सधैँ बेपत्ता रहनेछिन्,” सामीले भनिन्, “हामीलाई उनी मरिसकेको थाहा छ । तर परिवारले उनको अन्तिम संस्कार गर्नसमेत पाउने छैन । उनको शव ल्यान्डफिलमा टुक्राटुक्रा भएर नष्ट भएको छ । परिवारले यही पीडादायी वास्तविकतासँग बाँच्नुपर्नेछ ।”
प्रथम श्रेणीको हत्याको अभियोगमा भट्टलाई कम्तीमा २० वर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्छ । शवको अपमान र लुकाएको अन्य अभियोगमा थप पाँच वर्षसम्मको सजाय हुन सक्नेछ । उनलाई आगामी मार्चमा सजाय सुनाइनेछ ।
फैसलापछि अदालतबाहिर भेला भएका ममताका साथी तथा नेपाली समुदायका सदस्यहरूले खुसी व्यक्त गर्दै न्यायको स्वागत गरेका थिए ।
सोमबार अदालतमा बयान दिँदै भट्टले ममतालाई मृत अवस्थामा भेट्दा आफूलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरको असर परेको र मानसिक रूपमा नियन्त्रण गुमाएको अवस्थामा उनको शव टुक्राटुक्रा पारेको बताएका थिए ।
यता, भट्टकी प्रतिरक्षा वकिल ट्रेसी लेनोक्सले घटनाक्रमबारे पर्याप्त तर्कसंगत शंका रहेको दाबी गर्दै अभियोजन पक्षले ममतामाथि दुव्र्यवहार भएको भन्ने आरोप पुष्टि गर्न नसकेको जिकिर गरिन् ।
उनले जुरीलाई भनिन्, “यदि, के भएको थियो भन्नेबारे तपाईंहरूको मनमा तर्कसंगत शंका उत्पन्न हुन्छ भने निर्दोष भएको फैसला दिनुपर्छ ।” एनबीसी वासिंटन