सिन्धुलीस्थित आयोजनाले २०२६ जुन ८ (२०८३ जेठ २५) मा प्रकाशित गरेको बोलपत्र सूचना रद्द गरेको हो । आयोजनाले २०२६ अक्टोबर ३० (२०८३ कात्तिक १३) मा सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा (२) बमोजिम ठेक्का रद्द गरिएको जनाएको छ ।
रद्द गरिएको ठेक्का सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणसम्बन्धी थियो । आयोजनाले ठेक्का प्रक्रियामा सहभागी बोलपत्रदातासँग क्षमायाचनासमेत गरेको छ ।
ठेक्का प्रक्रियामा प्राविधिक रूपमा छनोट भएका तीन कम्पनीमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई), एन्नेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड थिए । यी कम्पनी प्राविधिक मूल्यांकन उत्तीर्ण गरी आर्थिक प्रस्ताव खोल्ने अन्तिम चरणमा पुगेका थिए । तर, कानुनी प्रावधानअनुसार प्रक्रिया अघि नबढेको भन्दै सम्पूर्ण बोलपत्र नै रद्द गरिएको हो ।
सुरुमा अस्वभाविक ढिलाइ गरेपछि ठेक्का रद्ध
सुनकोशी मरिन डाइभर्सन आयोजनाको उक्त निर्माण कार्यको ठेक्का यसअघि पटेल–रमण जेभी जनकपुरले पाएको थियो । लागत अनुमानभन्दा ३२ प्रतिशत कम रकम कबोल गरी ठेक्का हात पारेको कम्पनीले सम्झौता अवधिको ६० प्रतिशत समय बित्दासमेत भौतिक प्रगति १० प्रतिशत मात्रै गरेको थियो ।
पटेल–रमण जेभीले २०७९ पुस १७ मा ५५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता भएको ३३ महिना बितिसक्दा पनि स्थायी संरचना निर्माणको प्रगति १० प्रतिशतमा सीमित भएपछि आयोजनाले २०८२ मंसिर ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो ।
ठेक्का सम्झौता रद्द गरेपछि सरकारले निर्माण कम्पनीले राखेको बैंक जमानतसमेत जफत गरेको थियो । कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको २ अर्ब ४० करोड रुपैयाँ र अग्रिम भुक्तानी (पेस्की) बापतको १ अर्ब २० करोड रुपैयाँ गरी कुल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गरिएको थियो ।
दोस्रो पटक ठेक्का प्रक्रिया कानुनी उल्झन
पुरानो निर्माण कम्पनीसँगको ठेक्का तोडिएपछि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । तर, दोस्रो पटकको ठेक्का प्रक्रिया पनि कानुनी प्रावधानको विवादमा परेपछि रद्द गर्नुपरेको छ ।
सरकारले २०८३ असार २५ गते सार्वजनिक खरिद ऐनमा दोस्रो संशोधन गरेको थियो । त्यसैगरी, गत भदौ ३ गते सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधन जारी गरिएको थियो ।
संशोधित कानुनी व्यवस्थाअनुसार नियमावलीमा थप गरिएको नियम २६(क तथा ऐनको दफा १) को उपदफा (२ख) बमोजिम १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागत अनुमान भएका ठूला तथा जटिल निर्माण कार्यका लागि प्राविधिक र आर्थिक प्रस्तावको अंकभार बोलपत्र कागजातमै अनिवार्य रूपमा तोक्नुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार डेढ अर्ब रुपैयाँभन्दा बढी लागतका ठूला तथा जटिल आयोजनाको खरिद प्रक्रिया संशोधित प्रावधानअनुसार सञ्चालन गर्नुपर्ने हुन्छ ।
तर, संशोधित कानुनी व्यवस्था राजपत्रमा प्रकाशित भइसकेपछि पनि सुनकोशी मरिन आयोजनाले भदौ १० गते पुरानै खारेज भइसकेको प्रावधानअनुसार प्राविधिक प्रस्ताव खोलेको थियो ।
सार्वजनिक खरिद ऐनको दफा ३ को उपदफा (२) मा ऐन वा नियमको प्रतिकूल हुने गरी गरिएको खरिद कार्य स्वतः बदर तथा अमान्य हुने व्यवस्था छ । यही कानुनी व्यवस्थाका कारण भविष्यमा ठेक्का प्रक्रियामाथि कानुनी प्रश्न उठ्न सक्ने देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रत्यक्ष हस्तक्षेपमा बोलपत्र प्रक्रिया रद्द गरिएको हो ।
यससँगै आयोजनाको निर्माण कार्यका लागि पुनः नयाँ खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएको छ । पहिलो ठेक्का सम्झौता तोडिएपछि नयाँ ठेकेदार छनोट गर्न गरिएको प्रयाससमेत कानुनी प्रक्रियाका कारण निष्कर्षमा पुग्न सकेको छैन ।
सुरुङ निर्माण सकियो, अन्य संरचनाको काम बाँकी
राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सरकारले २०७९ माघ ११ गतेदेखि निर्माण अघि बढाएको थियो । आयोजनाको मुख्य १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ । उक्त सुरुङको व्यास ५.५ मिटर र प्रतिसेकेन्ड ६७ घनमिटर पानी प्रवाह क्षमता रहेको छ ।
आयोजनाको मुख्य उद्देश्य तराईका पाँच जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउनु हो । यसका अतिरिक्त आयोजनाबाट ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ ।
आयोजनाको अनुमानित लागत करिब ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। मुख्य सुरुङ निर्माण सम्पन्न भए पनि अन्य आवश्यक संरचना निर्माणका लागि नयाँ ठेकेदार छनोट हुन सकेको छैन । पहिलो ठेकेदारको कमजोर कार्यसम्पादनपछि सम्झौता तोडिएको र दोस्रो पटकको बोलपत्रसमेत रद्द भएको अवस्थामा आयोजनाको बाँकी निर्माण कार्य थप प्रभावित हुने देखिएको छ ।
यसले राष्ट्रिय गौरवको आयोजनामा निर्माण कम्पनीको कमजोर कार्यसम्पादनसँगै सार्वजनिक खरिद प्रक्रियामा देखिएको कानुनी तथा प्रशासनिक जटिलताले पनि आयोजना कार्यान्वयनमा चुनौती थपिरहेको देखाउँछ ।