यस दिन नेप्से परिसूचक ८.७० अंक बढेर २६४७.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५६ स्टकको ५२ हजार ६६९ पटकको कारोबारमा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक १०.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर साढे ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन उर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी बैंकको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।