हिजो बसेको नेप्से सञ्चालक समितिको बैठकले साताको पाँच दिन कारोबार गर्ने सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । अबदेखि आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले 'मेरो लगानी'सँग कुरा गर्दै हिजोको बैठकबाट शुक्रबार कारोबार खोल्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म कायम गरिनेछ र सोही दिन शेयर कारोबार समेत हुनेछ । "हिजो बसेको सञ्चालक समिति बैठकले शुक्रबार कारोबार खोल्ने निर्णय गरेको छ," उनले भने ।
नेप्सेले शुक्रबार कारोबार खोल्न लागेको यो पहिलो पटक भने होइन । यसअघि पनि सरकारले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । त्यति बेला पनि सातामा ५ दिन (सोमबारदेखि शुक्रबारसम्म) शेयर कारोबार भएको थियो। पछि सरकारले आइतबारको बिदा खारेज गरेपछि नेप्से पुनः पुरानै कार्य तालिकामा फर्किएको थियो ।
मन्त्रिपरिषद्को हालैको बैठकले बढ्दो इन्धन खपत र वैदेशिक मुद्रा सञ्चितिमा परेको चापलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्न आइतबार सबै सरकारी कार्यालयहरूमा बिदा दिने निर्णय गरेको थियो । सरकारको सोही निर्णयलाई पछ्याउँदै नेप्सेले लगानीकर्ताहरूको हित र बजारको सक्रियतालाई ध्यानमा राखेर शुक्रबार बजार चलाउने प्रक्रिया अगाडि बढाएको हो ।
नेप्सेका सञ्चालकहरूका अनुसार विगतमा पनि शुक्रबार बजार चलाएको अनुभव भएकाले यस पटक प्रक्रिया पूरा गरेर कारोबार सुरु गर्न कुनै प्राविधिक समस्या हुने छैन। हाल शुक्रबार र शनिबार बजार बन्द हुँदै आएकोमा अब नयाँ व्यवस्था अनुसार शनिबार र आइतबार बजार बन्द रहनेछ।