शेयर बजारमा ‘आफ्टर मार्केट अर्डर’ को बाटो खुल्यो: धितोपत्र बोर्डद्वारा विनियमावली स्वीकृत, अब जुनसुकै बेला अर्डर राख्न पाइने

Apr 07, 2026 08:37 AM Merolagani



नेपाली शेयर बजारलाई आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यका साथ ‘आफ्टर मार्केट अर्डर–AMO’ कार्यान्वयन हुने भएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) को सोमबार बसेको बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पठाएको ‘धितोपत्र कारोबार संचालन विनियमावली’ संशोधनको प्रस्तावलाई स्वीकृत गरेसँगै यसको कानुनी गाँठो फुकेको हो।

बोर्डका सञ्चालक आनन्दराज शर्माले विनियमावली संशोधनको निर्णय भएको पुष्टि गर्दै भने, “नेप्सेले संशोधनको लागि पठाएको धितोपत्र कारोबार संचालन विनियमावली हिजो बसेको बोर्ड बैठकले संशोधन गर्ने निर्णय गरेको छ ।”

बोर्डले विनियमावली स्वीकृत गरे पनि यो पूर्ण रूपमा कार्यान्वयनमा आउन अब एक अन्तिम प्रक्रिया बाँकी छ। बोर्डबाट स्वीकृत भई आएको उक्त विनियमावलीलाई अब नेप्से सञ्चालक समितिले औपचारिक रूपमा पास (पारित) गर्नेछ। नेप्से सञ्चालक समितिले यसलाई पारित गरे लगत्तै लगानीकर्ताले ‘ आफ्टर मार्केट अर्डर’ को सुविधा प्रयोग गर्न पाउनेछन्।

यो व्यवस्था लागू भएपछि लगानीकर्ताहरूले नियमित बजार समय (बिहान ११ देखि दिउँसो ३ बजे) बाहेकको समयमा पनि शेयर खरिद वा बिक्रीको अर्डर प्रणालीमा राख्न सक्नेछन्। ‘आफ्टर मार्केट अर्डर’ का लागि कुनै निश्चित समय सीमा (Time Slot) तोकिएको छैन । अर्थात्, लगानीकर्ताले बजार बन्द भएपछि रातको समयमा होस् वा बिहानै, आफ्नो अनुकूलता अनुसार जुनसुकै बेला अर्डर ‘सेट’ गर्न सक्नेछन्। यसरी राखिएको अर्डर भोलिपल्ट बजार खुल्ने बित्तिकै प्राथमिकताका आधारमा कार्यान्वयनमा जानेछ।

विशेष गरी विदेशमा रहेका नेपालीहरू (NRN) लाई नेपालको समय अनुसार बजार खुल्दा कारोबार गर्न निकै कठिन हुने गरेको थियो । अब उनीहरूले समयको भिन्नता (Time Zone) को पर्वाह नगरी जुनसुकै बेला अर्डर राख्न पाउनेछन्। त्यस्तै, दिउँसो कार्यालय समयमा व्यस्त रहने कर्मचारी र अन्य पेसाकर्मीहरूले पनि बिहान वा बेलुकाको फुर्सदमा आफ्नो व्यापारिक योजना अनुसार अर्डर राख्न सक्नेछन्।

के हो 'आफ्टर मार्केट अर्डर' र यसका फाइदा ?

साधारणतया शेयर बजार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खुल्छ। 'आफ्टर मार्केट अर्डर' यस्तो सुविधा हो, जसमा लगानीकर्ताले बजार बन्द भएको समयमा (रातको समय वा बिहानै) पनि शेयर खरिद वा बिक्रीको आदेश प्रणालीमा राख्न सक्छन्। यो व्यवस्था कार्यान्वयनमा आएपछि विदेशमा रहेका नेपालीलाई सहज हुनेछ। समयको भिन्नता (Time Zone) का कारण विदेशमा रहेका नेपालीलाई नेपालको बजार खुलेको समयमा कारोबार गर्न कठिन हुन्थ्यो। अब उनीहरूले आफ्नो अनुकूल समयमा अर्डर राख्न पाउनेछन्। कार्यालय समयमा व्यस्त रहने कर्मचारीहरूले अब बिहान वा बेलुका नै आफ्नो व्यापारिक योजना अनुसार 'अर्डर 'सेट' गर्न सक्नेछन्। बढीभन्दा बढी लगानीकर्ता सहभागी हुन पाउने भएपछि बजारमा शेयरको माग र आपूर्तिमा सन्तुलन आउनुका साथै कारोबार रकममा पनि वृद्धि हुनेछ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।