अघिल्लो वर्षको फागुन मसान्तसम्म ७० करोड ८७ लाख रुपैयाँ ऋणात्मक (नोक्सान) मा रहेको वित्त क्षेत्र यो वर्ष सुधारिँदै ७ करोड २१ लाख रुपैयाँ धनात्मक (नाफा) मा आएको छ। यो अघिल्लो वर्षको तुलनामा ११० प्रतिशतको वृद्धि हो।
समीक्षा अवधिमा १५ मध्ये ७ वटा कम्पनी नाफामा छन् भने ८ वटा कम्पनी अझै नोक्सानमै रहेका छन्। नाफा कमाउने कम्पनीहरूमध्ये मञ्जुश्री फाइनान्स सबैभन्दा अगाडि देखिएको छ। मञ्जुश्रीले १७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १३ करोड ६२ लाखको तुलनामा २५ प्रतिशत बढी हो। त्यस्तै, आईसीएफसी फाइनान्सले ७ करोड ८५ लाख र सेन्ट्रल फाइनान्सले ५ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन्। प्रतिशतका आधारमा सबैभन्दा बढी सुधार गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा देखिएको छ, जसको नाफा १००१ प्रतिशतले बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ।
नोक्सानमा रहेका कम्पनीहरूमध्ये नेपाल फाइनान्सको अवस्था सबैभन्दा कमजोर देखिएको छ। अघिल्लो वर्ष १ करोड ३० लाख नाफामा रहेको यो कम्पनी अहिले ८ करोड ८४ लाख रुपैयाँ घाटामा गएको छ, जुन ७७७ प्रतिशतको गिरावट हो। यस्तै, समृद्धि फाइनान्स ५ करोड १० लाख, पोखरा फाइनान्स ४ करोड ३१ लाख र गुडविल फाइनान्स ३ करोड २६ लाख रुपैयाँ नोक्सानमा छन्। यद्यपि, केही कम्पनीहरूले आफ्नो घाटा उल्लेख्य रूपमा घटाएका छन्। पोखरा फाइनान्सले अघिल्लो वर्षको ७५ करोड ८४ लाखको विशाल नोक्सानीलाई यस वर्ष ४ करोड ३१ लाखमा झारेको छ भने रिलायन्स फाइनान्सले पनि आफ्नो नोक्सानी ९४ प्रतिशतले कम गर्न सफल भएको छ। समग्रमा, क्षेत्रगत रूपमा नाफा धनात्मक हुनुले वित्त कम्पनीहरूको पछिल्लो वित्तीय अवस्था सुधारोन्मुख रहेको संकेत गर्दछ।