असारमा उच्च कारोबार भएकाे डिबेञ्चर साउन सुरु हुनासाथ किन सुक्यो ?

Jul 17, 2026 05:45 PM Merolagani



नेपाली पुँजी बजारमा विगत केही समयदेखि ऋणपत्रको कारोबारले नयाँ तरङ्ग पैदा गरेको छ। गत असार महिनाभरि दोस्रो बजारमा ऋणपत्रको कारोबार ऐतिहासिक रूपमा चुलिएको थियो।

नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क अनुसार असारका विभिन्न दिनहरूमा कुल शेयर बजारको दैनिक कारोबारमा ऋणपत्रको हिस्सा ५० प्रतिशतभन्दा माथि पुग्दै असार २६ गते ५४ दशमलव १ प्रतिशत र असार ३० गते त ५६ दशमलव ६ प्रतिशतसम्मको उच्च विन्दुमा पुगेको देखिन्छ। तर, नयाँ आर्थिक वर्षको सुरुवात अर्थात् साउनको पहिलो दिन नै एक प्रतिशतभन्दा पनि तल खुम्चिन पुगेको छ। असारमा उच्च कारोबार भएको ऋणपत्र बजार साउन लाग्नासाथ यसरी सुक्नुको पछाडि अर्धवार्षिक ब्याज आम्दानीको बलियो आकर्षण र घट्दो शेयर बजार मुख्य कारणका रूपमा रहेका छन्।

असारमा किन बढ्छ ऋणपत्रको कारोबार

पुँजी बजारमा सूचीकृत ऋणपत्रहरूले लगानीकर्तालाई अर्धवार्षिक रूपमा अर्थात् प्रत्येक छ महिनामा निश्चित कुपन दरअनुसार ब्याज भुक्तानी गर्ने गर्दछन्। नेपालका अधिकांश ऋणपत्रहरूको ब्याज भुक्तानी गर्ने समय पुस मसान्त र असार मसान्तमा पर्ने गर्दछ। ऋणपत्रको नियमअनुसार जसको नाममा मसान्तमा ऋणपत्र कायम रहन्छ, उसैले उक्त अवधिको ब्याज प्राप्त गर्ने हुनाले दोस्रो बजारमा असार महिनामा यसको माग अस्वाभाविक रूपमा बढ्ने गर्दछ। बैंकहरूले आफ्नो कर्जा निक्षेप अनुपात व्यवस्थापन गर्ने विषयलाई भन्दा पनि सुरक्षित रूपमा निश्चित ब्याज आम्दानी सुनिश्चित गर्ने रणनीतिका साथ असार महिनामा ऋणपत्र खरिदलाई बढी जोड दिएका थिए। संस्थागत तथा ठूला लगानीकर्ताहरू असार मसान्तको ब्याज प्राप्त गर्नका लागि दोस्रो बजारमा आक्रामक रूपमा प्रस्तुत हुँदा ऋणपत्रको माग र कारोबार रकम दुवै चुलिएको हो।

यसका साथै, सो समयमा साधारण सेयर बजार अर्थात् इक्विटी मार्केट लगातार घट्दो क्रममा रहेको थियो। शेयर बजारमा जोखिम बढ्दै गएपछि र प्रतिफलको सुनिश्चितता नदेखेपछि लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा लागे। घट्दो शेयर बजारको जोखिमबाट बच्न र सुरक्षित रूपमा निश्चित आम्दानी प्राप्त गर्नका लागि लगानीकर्ताहरू ऋणपत्रतर्फ आकर्षित भए। यसरी शेयर बजारको मन्दीले गर्दा बचतकर्ता र ठूला कोषहरूले आफ्नो पूँजी ऋणपत्रमा स्थानान्तरण गरे। वाणिज्य बैंकहरूले प्राथमिक पूँजी कोष अनुपात कायम गर्नका लागि समेत दोस्रो बजारबाट ठूलो परिमाणमा ऋणपत्र उठाइएको थियो। संस्थागत लगानीकर्ताहरू, जस्तै बीमा कम्पनी र विभिन्न कोषहरूले समेत कर तिर्ने प्रयोजन र वित्तीय विवरण व्यवस्थापनका लागि असारमै ऋणपत्र खरिद बढाएका कारण कारोबारले ऐतिहासिक उचाइ लिएको हो।

साउन लागेसँगै किन घट्यो ऋणपत्रको कारोबार

असार मसान्त सकिएर साउन सुरु हुनासाथ ऋणपत्रको कारोबार एकाएक शून्यप्रायः हुनुको मुख्य कारण ब्याज भुक्तानीको अवधि समाप्त हुनु र लगानीको नयाँ वातावरण सिर्जना हुनु नै हो। साउन महिनामा ऋणपत्र खरिद गर्दा तत्काल ब्याज पाइने सुनिश्चितता हुँदैन र अर्को भुक्तानीका लागि आगामी पुस मसान्तसम्म पर्खनुपर्ने हुन्छ। ब्याज प्राप्त गरिसकेपछि ठूला लगानीकर्ताहरू तत्काल थप लगानी गर्न इच्छुक हुँदैनन्, जसका कारण बजारमा माग एकाएक घट्न पुग्छ र कारोबार पूर्ण रूपमा सुक्दछ।

नेपालको दोस्रो बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच र रुचि ऋणपत्रमा निकै कम छ। साधारण सेयरमा जस्तो यसमा तीव्र मूल्य उतारचढाव नहुने भएकाले व्यक्तिगत लगानीकर्ताहरू यसमा आकर्षित हुँदैनन्। जब ठूला बैंक र संस्थागत लगानीकर्ताहरू ब्याज बुझेर बजारबाट बाहिरिए, तब सर्वसाधारणको न्यून उपस्थितिका कारण साउन महिनामा यसको कारोबार एक प्रतिशतभन्दा पनि तल झरेर बजार पूर्ण रूपमा सुक्न पुगेको हो।

असार महिनामा देखिएको ऋणपत्रको चमक वास्तविक बजार माग भन्दा पनि ब्याज आम्दानीको आकर्षण, घट्दो शेयर बजारको विकल्प र वित्तीय बाध्यता व्यवस्थापनको उपज मात्र थियो। साउनको शून्यताले नेपाली पुँजी बजारमा ऋणपत्रको वास्तविक अवस्था र सर्वसाधारणमाझ यसको कमजोर पकडलाई स्पष्ट रूपमा उजागर गरिदिएको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।