यी सातवटा मुद्दामा विभागले कुल १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीहरूबाट करिब एक खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको विभागले जनाएको छ । यो रकम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसँग सम्बन्धित कसुरमा दाबी गरिएको हो ।
अनुसन्धान र अभियोजनको प्रक्रिया
विभागमा प्राप्त हुने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनाहरूलाई सुरुमा स्क्रिनिङ कमिटीमा छलफल गर्ने व्यवस्था छ । उक्त कमिटीले प्रारम्भिक अनुसन्धान आवश्यक ठानेमा अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अगाडि बढाइने गरिन्छ ।
अनुसन्धान र अभियोजनको कार्यलाई व्यवस्थित बनाउन विभागमा हाल चारवटा अनुसन्धान शाखा क्रियाशील छन् । यसका अतिरिक्त कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखाले समेत यस प्रक्रियामा समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।
साथै विभागले विशेषगरी राजस्व चुहावट, भन्सार छली, अन्तःशुल्क चोरी तथा वैदेशिक व्यापारसँग सम्बन्धित मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धीकरणका कसुरहरूमा केन्द्रित रहेर अनुसन्धान गर्दै आएको छ ।
पछिल्लो समय विभागले अवैध धनलाई वैध बनाउने प्रयास र वित्तीय अपराधका विरुद्धको अभियानलाई थप सशक्त बनाएको छ । सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अध्ययन, अनुसन्धान र तहकिकातको प्रक्रियालाई थप तीव्र र गतिशिल बनाइएका कारण ठूलो मात्रामा बिगो दाबी गर्न सफल भएको विभागको दाबी छ ।