गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँबाट २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। बैंकले गत असार मसान्तसम्ममा १६ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ थियो।
कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँबाट २०.२४ प्रतिशतले घटेर ४ अर्ब ७८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। असुलीमा आएको सुधारले नाफा बढाउन सहयोग पुर्याएको हो। त्यस्तै, बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ।
बैंकले साधारण शेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने बलियो क्षमता बनाएको छ। नियमनकारी समायोजनहरूपश्चात् गत असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ३ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ रहेको छ। जसमा अघिल्लो आर्थिक वर्षको सञ्चित नाफा र नगद लाभांश भुक्तानी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ। साधारण शेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा कायम भएको छ।
ग्लोबल आइएमई बैंकको कुल सम्पत्तिको आकार ८ खर्ब २० अर्ब नाघेको छ। बैंकको चुक्ता पूँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ कायम रहेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ६९ अर्ब ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ।
ग्राहकहरूबाट सङ्कलित निक्षेप अघिल्लो आर्थिक वर्षको ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँबाट २१.५३ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा अघिल्लो आर्थिक वर्षको ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँबाट ७.१३ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार ६ खर्ब ८८ अर्ब ८० करोड रुपैयाँबाट बढेर ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
खुद नाफा २२.६७ प्रतिशत बढ्नु, शुद्ध खराब कर्जा १.२२ प्रतिशतबाट उल्लेख्य घटेर ०.५९ प्रतिशतमा सीमित हुनु र कुल वितरणयोग्य मुनाफा साढे ४ अर्ब कायम हुनुले शेयरधनीहरूका लागि आगामी दिनमा राम्रो प्रतिफलको सम्भावना बलियो बनाएको छ।
