यस पटकको निर्वाचनमा नेतृत्व हत्याउनका लागि तीनवटा छुट्टाछुट्टै प्यानलहरू मैदानमा होमिएका छन्, जसका कारण प्रतिस्पर्धा निकै रोचक र कडा हुने देखिएको छ। आगामी नेतृत्वका लागि जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेले आआफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेर भेटघाट अभियानलाई तीव्र बनाएका छन्।
वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी जिस्वाँ तुलाधर श्रेष्ठले संस्थागत निरन्तरता, सुदृढ व्यावसायिक सुरक्षा र पर्यटन क्षेत्रका अधुरा योजनाहरूलाई पूर्णता दिने मुख्य एजेन्डा अगाडि सार्दै चुनावी मैदानमा होमिएकी छिन्। उनीसहितको समूहले नेपालको पर्यटन बजारमा देखिएका नीतिगत जटिलताहरू हटाउन सरकारी निकायसँग बलियो समन्वय गर्ने तथा महिला उद्यमी र नयाँ पुस्ताका व्यवसायीहरूलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। 'सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय' भन्ने मुख्य नाराका साथ नाट्टाको २०२६–२०२८ कार्यकालको निर्वाचनका लागि श्रेष्ठको अध्यक्षतामा चुनावी प्यानल घोषणा भएको छ। स्वाँ टुर्स एन्ड ट्राभल्सकी सञ्चालक श्रेष्ठको अध्यक्षतामा उभिएको यो प्यानलमा वरिष्ठ उपाध्यक्ष पदका लागि हिमालयन क्लब टुर्स एन्ड ट्राभल्सका बिष्णु पाण्डे र उपाध्यक्षमा एडभेन्चर आउटडोर एक्सकर्शनकी प्रज्ञा पाठक शर्मा उम्मेदवार रहेका छन्। यसैगरी, महासचिवमा गोर्खा इन्टरनेसनल ट्राभल्सका सुशिल पन्त, सचिवमा वेल नेपाल ट्राभल एन्ड टुर्सका रमेश घिमिरे, कोषाध्यक्षमा काठमाडौं हलिडे टुर एन्ड ट्राभलका कृष्ण प्रसाद ढकाल र सह-कोषाध्यक्षमा सेलेक्टेड टुर्स एन्ड ट्राभलकी डा. बिमला दाहाल मैदानमा होमिएका छन्। कार्यकारी सदस्यहरूमा ड्युक नेपाल एडभेन्चरका प्रदिप आचार्य, पर्ल होलिडेजका सुदर्शन गजुरेल, शिवालय होलिडेजका दिनेश घिमिरे, इन्टेल रोशी टुर्स एन्ड ट्राभल्सका त्रिलोचन न्यौपाने, नेपाल स्नो ज्वेल ट्राभल एन्ड टुरिज्मकी अनु अधिकारी (राउट) तथा रेन्बो ट्राभल्स एन्ड टुर्सकी रोजिना रञ्जित रहेका छन्। "सम्बन्धको निर्माण, अवसरहरूको सिर्जना र एकताबद्ध राम्रो नाट्टा" भन्ने उद्देश्य बोकेको यो टिम संस्थागत सुदृढीकरण र व्यावसायिक हकहितको एजेन्डासहित मतदाताहरूको घरदैलोमा सक्रिय रहेको छ।

त्यसैगरी, अध्यक्ष पदका अर्का दाबेदारका रूपमा देखिएकी वर्तमान कार्यसमितिकी महासचिव युबिका भण्डारीले पर्यटन क्षेत्रमा आधुनिक सोच, नवीनतम प्रविधि र समयसापेक्ष रूपान्तरणको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएकी छिन्। पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि नयाँ अवधारणा र कार्यक्रमहरू ल्याउने उनको समूहको मुख्य योजना रहेको छ। व्यवसायीहरूले भोगिरहेका व्यावसायिक तथा वित्तीय समस्याहरूको स्थायी समाधानका लागि संस्थालाई थप गतिशील र पारदर्शी बनाउनुपर्ने अडान उनको प्यानलले राखेको छ। पर्यटन उठे, नेपाल उठ्छ' भन्ने मूल नाराका साथ नाट्टाको २०२६–२०२८ कार्यकालको निर्वाचनका लागि युबिका भण्डारीको अध्यक्षतामा चुनावी प्यानल घोषणा भएको छ। शासीज हलिडेजकी सञ्चालक भण्डारीको नेतृत्वमा रहेको यो प्यानलको वरिष्ठ उपाध्यक्षमा वल्र्डवेज टुर एन्ड ट्राभल्सका वरुण मेहता र उपाध्यक्षमा होलिडे एडभेन्चर्स टुर एन्ड ट्राभल्सका ढकनाथ काफ्ले उम्मेदवार रहेका छन्। यसैगरी, महासचिवमा डिजायर नेपाल ट्रेक्स ट्राभल्स एन्ड टुर्सका कृष्णप्रसाद ढकाल, सचिवमा ए.एन.टी. होलिडेजकी श्रद्धा जोशी, कोषाध्यक्षमा अल डेस्टिनेसन हलिडेजकी रमा कुमारी प्याकुरेल र सह-कोषाध्यक्षमा जुगल होलिडेजका बिदुर खतिवडा मैदानमा होमिएका छन्। कार्यकारी सदस्यहरूमा पद्मा ट्राभल्स एन्ड टुर्सका प्रदिपप्रसाद उदया, साइयु ट्राभल्सका बिवश पौडेल, एस.एन.टी. होलिडेजका श्रीराम थापा, बुद्ध ल्यान्ड टुर एन्ड ट्राभल्सकी स्मारिका थापा, ग्रिन होराइजन टुर एन्ड ट्राभल्सका संकेत दाहाल, अभिवादन एक्सपिडिसन हलिडेजका डा. उमेश गुप्ता, एक्सपर्ट एसियन टुर्सका होमबहादुर परियार र गोल्डेनगेट ट्राभल्स एन्ड टुर्सका राजेन्द्र प्रसाद त्रिपाठी रहेका छन्।
यससँगै, एभरेष्ट मिराकल ट्राभल एन्ड टुर्सका सञ्चालक भरतजंग पाण्डे पनि सशक्त रूपमा अध्यक्षको प्रत्यासीको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पाण्डेको नेतृत्वमा रहेको समूहले सुशासन, पारदर्शिता र सदस्यहरूको हकहितलाई सर्वोपरी राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्य लिएको छ। डिजिटल प्रणालीको विस्तार, इनबाउन्ड तथा बहुराष्ट्रिय टुर व्यवस्थापनमा सहजता र व्यवसायीहरूको व्यावसायिक अधिकार रक्षाका लागि आफूहरूको प्यानल कटिबद्ध रहेको उनको भनाइ छ। 'सशक्त नाट्टा समृद्ध पर्यटन, सदस्यसँगै, सदस्यका लागि' भन्ने मुख्य नाराका साथ नाट्टा निर्वाचन २०२६ का लागि भरतजंग पाण्डेको अध्यक्षतामा अर्को चुनावी प्यानल मैदानमा उत्रिएको छ। पाण्डेको नेतृत्वमा रहेको यस प्यानलको वरिष्ठ उपाध्यक्षमा सोसाइटी ट्राभल सर्भिसका सुनिल शर्मा, उपाध्यक्षमा एरो ट्राभल एन्ड टुर्सकी सबिता केसी भट्टराई र महासचिवमा वल्र्ड फेभर ट्राभल एन्ड टुर्सका राजकुमार देवकोटा उम्मेदवार रहेका छन्। यसैगरी, सचिवमा रुप्से हलिडेजका रमेश पराजुली, कोषाध्यक्षमा थामसेर्कु ट्राभल्सकी डिकी शेर्पा र सह-कोषाध्यक्षमा ह्याम्लेट टुर एन्ड ट्राभल्सका जीवन कोइराला उम्मेदवार रहेका छन्। कार्यकारी सदस्यहरूमा रोयल ट्राभल्स एन्ड टुर्सका दिनानाथ पाण्डे (प्रकाश), शुभम ट्राभल्स एन्ड टुर्सका दिनेश मैनाली, शोदिप ट्राभल एन्ड टुर्सका दिपक मराशेनी, एट आइज ट्राभल एन्ड टुर्सका नबिन गुरुङ, प्रभास ट्राभल एन्ड टुर्सका प्रकाश लोहनी, आर्या भिलेज ट्राभलकी सरला सापकोटा, हाम्रो हलिडेजका सुमन लाल श्रेष्ठ र सिटी कनेक्ट ट्राभल्स एन्ड टुर्सकी स्वस्तिका प्रधान रहेका छन्।
निर्वाचनको मिति नजिकिँदै गर्दा तीनवटै प्यानलका उम्मेदवारहरू आन्तरिक मतदान आफ्नो पक्षमा पार्नका लागि होटल तथा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा निरन्तर छलफल र लबिङमा व्यस्त रहेका छन्। कोभिड महामारीपछिको असर, बढ्दो बैंकिङ ब्याजदर, कर प्रणालीका जटिलता र समग्र पर्यटन उद्योगको पुनरुत्थान जस्ता ज्वलंत समस्याहरूलाई उम्मेदवारहरूले आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। आगामी शुक्रबार हुने मतदानले आगामी दुई वर्षका लागि टुर तथा ट्राभल व्यवसायीहरूको यो महत्वपूर्ण संस्थाको बागडोर कसको हातमा सुम्पिनेछ भन्ने स्पष्ट पार्नेछ।