अन्तिम समयमा नेप्से सकारात्मक, कारोबार रकममा गिरावट

Aug 12, 2026 03:10 PM Merolagani



बुधबार नेप्से परिसूचक अन्तिम समयमा सकारात्मक भएर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा झिनो अंकले सकारात्मक भएर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक बढेको छ।

नेप्से सकारात्मक भएर बन्द भएपनि यस दिन कारोबार रकम घटेको छ। मंगलबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ४३ हजार ९९० पटकको कारोबारमा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ८७ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४५ रुपैयाँ बढेर ३४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सो कम्पनीको शेयर हिजो अर्थात मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि नियमित बजारमा कारोबार भएको हो। त्यस्तै, यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक बढेको हो।