कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शीनले प्रतिशयर ४७.६० देखि ४९.५० हङकङ डलरको दरमा करिब २८ करोड शेयर बिक्रीका लागि खुला गर्ने भएको छ। कम्पनीको मूल्याङ्कन लगभग २७ अर्ब अमेरिकी डलर बराबरको उच्चतम मूल्य दायरा हुनेछ। तर, सन् २०२२ को निजी लगानी संकलनका क्रममा कायम भएको १०० अर्ब डलरको मूल्याङ्कनको तुलनामा यो निकै कम हो, जसले कम्पनीको घट्दो बिक्री वृद्धि र बढ्दो लागतलाई दर्साएको देखिन्छ।

कम्पनीको मुख्यालय सिङ्गापुरमा रहेपनि चीनमा स्थापना भएको शीनले नियमनकारी चुनौती तथा सूक्ष्म निगरानीका कारण अमेरिका र लन्डनमा शेयर सूचीकृत गर्ने प्रयास असफल भएको थियो । त्यसपछि कम्पनीले हङकङको बजारबाट कारोबार सुरु गर्न लागेको हो। यसको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) लाई गोल्डम्यान स्याक्स, मोर्गन स्ट्यान्ली, र जेपी मोर्गन जस्ता वाल स्ट्रिटका दिग्गज लगानीकर्ताहरूले समर्थन गरेका छन्।
सन् २०२३ देखि शेयर बजारमा जाने प्रयासमा रहेको यो कम्पनीले अन्ततः हङकङ स्टक एक्सचेन्जमा आफ्नो बहुप्रतीक्षित सुरुवात गर्दैछ। नान्याङ टेक्नोलोजी युनिभर्सिटीका अर्थशास्त्रका सह–प्राध्यापक फेङ क्युका अनुसार मूल भूमिका धेरै चिनियाँ कम्पनीहरूलाई आकर्षित गरेपछि हङकङ पुनः “सबैभन्दा ठूला आईपीओ बजारहरूमध्ये को रूपमा पुनरुत्थान भएको छ। प्राध्यापक फेङका अनुसार, लन्डन बजारमा कडा नियमनका कारण योजना रद्द भएको हुनाले शीनले लन्डनको तुलनामा हङकङमा उच्च मूल्याङ्कन पाउने सम्भावना बढी छ।
साथै, विश्वका दुई ठूला अर्थतन्त्रहरू (अमेरिका र चीन) बीचको तनावका कारण कम्पनीहरू बजारबाट हटाइन सक्ने जोखिम हुने भएकाले चिनियाँ कम्पनीहरू अमेरिकामा शेयर बिक्री गर्न हच्किन सक्ने उनले थपे।
प्रतिस्पर्धा र चुनौतीहरू
शीनको स्टक बजारमा सूचीकरणले द्रुत–फेशन उद्योग र यसको तीव्र प्रतिस्पर्धात्मक बजारमा लगानीकर्ताहरूको विश्वासको परीक्षण गर्नेछ। जुलाई महिनामा शीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साना पार्सलहरूमा दिइने भन्सार छुट हटाएपछि अमेरिकी बजारमा बिक्री घटेर कम्पनी घाटामा गएको जनाएको थियो। कम्पनीले वर्षको पहिलो तीन महिनामा ९ करोड ९० लाख डलर घाटा व्यहोरेको छ। जबकि अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ३९ करोड ५० लाख डलर खुद नाफा कमाएको थियो।
यसका साथै, हाल रोकिएको भए तापनि अमेरिका–चीनबीचको व्यापार युद्धको अनिश्चितता कायमै छ। अमेरिकी बजारमा आफ्ना उत्पादनको मूल्य बढाउने लगायतका धेरै विकल्पहरूमा काम गरिरहेका शीनले भनेको थियो। कम्पनीले इरान युद्धका कारण पनि मागमा ह्रास आएको, लागत बढेको र केही बजारहरूमा सामान डेलिभरीमा ढिलाइ भएको जनाएको छ। पहिलो त्रैमासिकको तथ्याङ्कमा विशेष लगानीकर्ता शेयरहरूको लेखा विधिमा आएको परिवर्तनका कारण ३२ करोड ८० लाख डलरको कागजी घाटा पनि समावेश छ। यी शेयरहरूलाई पछि साधारण शेयरमा रुपान्तरण गर्न सकिन्छ।
केही लगानीकर्ताहरूले भने उच्च लागत र नियमनकारी चुनौतीहरूले शीनको छिटो र सस्तो मूल्यमा बजारमा सामान पुर्याउने क्षमतामा असर पार्ने सक्नेमा आंशका गरेका छन् । बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टरनेसनलकी मार्गरेट लेरोल्यान्डले बीबीसीलाई बताए अनुसार, भन्सार छुट समाप्त हुनु शीनको अमेरिकी बजारमा बिक्री सुस्त हुनुको एउटा मुख्य कारण हो। यो छुटका कारण शीन र यसको मुख्य प्रतिस्पर्धी टेमुले आयात कर नतिरीकन सामान डेलिभरी गर्न सकेका थिए। जसले गर्दा उनीहरू अमेरिकामा तीव्र रूपमा विस्तार हुन सफल भएका थिए। यी कारकहरूले शीन र यसका प्रतिस्पर्धीहरू बीचको मूल्यको अन्तरलाई घटाउन सक्ने उनले थपिन्।
व्यापक सञ्जाल र आलोचना
सन् २००८ मा स्थापना भएदेखि शीन विश्वकै ठूला द्रुत–फेशन खुद्रा विक्रेताहरूमध्ये एक बनेको छ। जसका १५० भन्दा बढी देशहरूमा ग्राहकहरू छन्। यो ई–कमर्स कम्पनी सस्तो कपडा बिक्रीका लागि परिचित छ। जसलाई चीनमा रहेका कारखानाहरूको विशाल सञ्जालले सहयोग गर्दछ। यी कारखानाहरूले पछिल्ला फेसन ट्रेन्डका आधारमा नयाँ उत्पादनहरू द्रुत गतिमा निर्माण गर्न सक्छन्। यसको राजस्व एच एण्ड एम-जारा जस्ता प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि रहेको बताइन्छ।
मार्च २०२६ को अन्त्यसम्ममा शीनका २८ करोड १० लाख सक्रिय ग्राहकहरू थिए (जुन अघिल्लो वर्षको तुलनामा १६ प्रतिशत भन्दा बढीको वृद्धि हो) जसले कुल एक अर्ब भन्दा बढी अर्डरहरू दिएका थिए।
तर, शीनको यो व्यवसायले वातावरणीय प्रभाव र आपूर्ति श्रृंखलामा जबरजस्ती श्रम गराइएको आरोपहरूबारे चिन्ताको सामना गरिरहेको छ। शीनले पहिले बीबीसीलाई दिएको प्रतिक्रियामा जबरजस्ती श्रमप्रति शून्य सहनशीलता रहेको बताएको थियो। आफ्नो आपूर्ति श्रृंखलाको अभ्यासबारे सोधिएका प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेपछि र ती विषयमा सूक्ष्म छानबिन भएपछि लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने यसको प्रयास असफल भएको थियो।