स्टक ब्रोकर नं. ५ द्वारा विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

Oct 11, 2026 05:22 PM Merolagani



विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा मार्केट सेक्युरिटिज एक्सचेन्ज कम्पनी प्रालि (स्टक ब्रोकर नं. ५) ले शुक्रबार लगानीकर्ताका लागि वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

लगानीकर्तालाई पुँजी बजारबारे सही ज्ञान प्रदान गर्ने र सुसूचित निर्णय लिन सक्षम बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न वित्तीय संस्थामा वित्तीय सल्लाहकारका रूपमा आबद्ध तथा पुँजी बजार विश्लेषक सुन्दर रायमाझीले करिब साढे दुई घण्टा प्रशिक्षण दिएका छन्।

प्रशिक्षणका क्रममा रायमाझीले नेपालको पुँजी बजारको वर्तमान अवस्था, बजारका सम्भावना तथा चुनौती, फन्डामेन्टल एनालाइसिस र बेसिक टेक्निकल एनालाइसिसका व्यावहारिक प्रयोग, सेयर बजारमा जोखिम व्यवस्थापन तथा लगानी रणनीतिबारे जानकारी दिएका छन्। उनले लगानीकर्ता सचेतना, सेयर बजारसम्बन्धी प्रचलित भ्रम, सुरक्षित लगानीका अभ्यास तथा जिम्मेवार र सुसूचित लगानीकर्ता बन्न अपनाउनुपर्ने उपायबारे समेत प्रशिक्षण दिएका छन्।

कार्यक्रममा ब्रोकर नं. ५ का अध्यक्ष पूर्णमान सिंह डङ्गोल, निर्देशक सुजन श्रेष्ठ, कार्यकारी प्रबन्धक सर्वोत्तम मान सिंह डङ्गोललगायत लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस कार्यक्रमले लगानीकर्ताको वित्तीय ज्ञान अभिवृद्धि गर्न, पुँजी बजारप्रति सकारात्मक र जिम्मेवार दृष्टिकोण विकास गर्न तथा सुसूचित लगानी निर्णयलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

मार्केट सेक्युरिटिज एक्सचेन्ज कम्पनीले आगामी दिनमा पनि वित्तीय साक्षरता विस्तार, लगानीकर्ता शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै नेपालको पुँजी बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।