अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो । पछिल्लो दश वर्षको औसत आर्थिक वृद्धिदर ४.५३ प्रतिशत रहेको बुलेटिनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८२/८३ मा औसत उपभोक्ता मुद्रास्फीति ३.०७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत थियो । बुलेटिनअनुसार चालु आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको औसत मुद्रास्फीति १.०४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.२१ प्रतिशत रहेको छ । वार्षिक औसत थोक मुद्रास्फीति ४.२७ प्रतिशत पुगेको छ ।
यस अवधिमा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ३५.८ प्रतिशत हो । विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यस्तो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ५९.१ प्रतिशत रहेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१३ अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय दुई हजार ४४ अमेरिकी डलर पुगेको बुलेटिनमा उल्लेख छ ।
बाह्य क्षेत्रतर्फ आर्थिक वर्ष २०८२/८३ मा चालु खाता ९ खर्ब २३ अर्ब ६० करोड रुपैयाँले बचतमा रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको १३.९९ प्रतिशत हो । शोधनान्तर स्थिति पनि १० खर्ब २७ अर्ब रुपैयाँले बचतमा रहेको छ । यस अवधिमा वस्तु निर्यात ३ खर्ब १५ अर्ब रुपैयाँ र आयात २० खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ । यससँगै वस्तु व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।
सरकारी वित्ततर्फ आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारले १२ खर्ब ४१ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२१ प्रतिशतले बढी हो । संघीय सरकारको कुल खर्च १५ खर्ब ६१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.१८ प्रतिशतले बढी हो । कुल खर्चमध्ये चालु खर्च १० खर्ब १५ अर्ब ६९ करोड, पुँजीगत खर्च एक खर्ब ९१ अर्ब ८८ करोड र वित्तीय व्यवस्थातर्फको खर्च तीन खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा तिर्न बाँकी खुद सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४५.१८ प्रतिशत हो । सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ७५ अर्ब ४२ करोड र बाह्य ऋण १६ खर्ब छ अर्ब २९ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.१३ प्रतिशत थियो ।
पुँजीगत खर्चको अवस्था भने कमजोर देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा विनियोजित पुँजीगत बजेटको ४७.०४ प्रतिशत मात्र खर्च भएको छ । यो पछिल्लो पाँच आर्थिक वर्षकै न्यून हो । कुल विनियोजित बजेटको खर्च ७९.५० प्रतिशत रहेको छ । बुलेटिनअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटको औसत खर्च ५८.५ प्रतिशत रहेको छ ।
बजेट घाटा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा बजेट घाटा तीन खर्ब २० अर्ब नौ करोड रुपैयाँ अर्थात् कुल गार्हस्थ्य उत्पादनको ४.८५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो घाटा तीन खर्ब ३३ अर्ब ४३ करोड रुपैयाँ अर्थात् कुल गार्हस्थ्य उत्पादनको ५.३८ प्रतिशत थियो ।