लामो दूरीका यात्रुवाहक सवारीसाधनका चालकहरूको प्रस्थान बिन्दुमै मादक पदार्थ तथा लागूऔषध सेवन (मापसे–लापसे) परीक्षणदेखि राजमार्गका होटलहरूमा हुने कालोबजारी नियन्त्रणसम्मका कार्य कडाइका साथ अगाडि बढाइएको प्रहरीले जनाएको हो ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै दशैँ–तिहार लक्षित विशेष सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिए । चाडपर्वमा प्रहरी कर्मचारीहरूको नियमित बिदासमेत स्थगन गरी नागरिकको सुरक्षार्थ टोलीहरू परिचालित गरिएको उहाँले स्पष्ट पारे । विशेषगरी लामो दूरीका सवारीसाधन छुट्ने उद्गम बिन्दुमै चालकको अनुमतिपत्र, सवारीसाधनको यान्त्रिक अवस्था तथा चालकले नसालु पदार्थ सेवन गरे–नगरेको कडाइका साथ जाँच भइरहेको छ । जाँचका क्रममा चालकले मापसे वा लापसे गरेको पाइएमा तत्काल कानूनी कारबाही गरिने र यात्रुलाई अलपत्र पर्न नदिन यातायात व्यवसायीहरूसँग समन्वय गरी तुरुन्तै अर्को सक्षम चालकको वैकल्पिक व्यवस्था मिलाइने प्रवक्ता काफ्लेले बताए।
राजमार्गका होटल तथा पसलहरूमा यात्रुहरूलाई गुणस्तरहीन र मिसावटयुक्त खाना खुवाउने, बढी मूल्य असुल्ने तथा ठगी गर्ने प्रवृत्ति रोक्न जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा वाणिज्य कार्यालयका प्रतिनिधिसहित सादा पोशाकका प्रहरी टोलीले नियमित छड्के अनुगमन गरिरहेका छन् । साथै काठमाडौंका नागढुङ्गा, फर्पिङलगायत प्रमुख नाकाहरूमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिए–नलिएकोबारे सोधपुछ तथा निगरानी भइरहेको छ । सुरक्षा व्यवस्थापनका लागि राजमार्ग तथा शहरका भित्री क्षेत्रहरूमा क्विक रेस्पोन्स टिम (क्यूआरटी) मोटरसाइकल तथा सञ्चार उपकरणसहितका गाडी (सीआरभी) निरन्तर गस्तीमा छन् । संवेदनशील तथा भीडभाड हुने धार्मिक स्थल, मेलापर्व र बजार क्षेत्रहरूमा ड्रोन, सीसीटीभी तथा तालिमप्राप्त कुकुरहरूको समेत प्रयोग गरिएको छ । आपत्कालीन अवस्थामा १०० नम्बरमा सम्पर्क हुन नसके नेपाल प्रहरीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयको ड्युटी अधिकृतलाई सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।