बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमईका सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा कुमारीका रामचन्द्र खनाल

Nov 27, 2026 01:25 PM Merolagani



वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्था नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन हुने भएका छन्। संघको शुक्रबार आयोजना हुने ४०औँ वार्षिक साधारणसभाबाट रेग्मी निर्विरोध अध्यक्ष चुनिनेछ ।

हाल संघको उपाध्यक्ष रहेका रेग्मीलाई अध्यक्ष बनाउने विषयमा बैंकका सीईओहरूबीच सहमति जुटेको संघसम्बद्ध स्रोतले जनाएको छ। यससँगै संघको रिक्त हुने उपाध्यक्ष पदमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल आउने छन्। 

राजधानीस्थित होटल मर्क्युरमा हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। बैंकर्स संघमा लामो समयदेखि विद्यमान उपाध्यक्षलाई अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ। यही परम्पराअनुसार रेग्मीले अब संघको नेतृत्व सम्हाल्न लागेका हुन्।

संघमा विगत १३ वर्षदेखि उपाध्यक्षलाई नै अध्यक्षमा पदोन्नति गर्ने अभ्यास निरन्तर रहँदै आएको छ। यद्यपि, दुई वर्षअघि यो परम्परा कायम रहनेमा केही अन्योल देखिएको थियो। २०८१ पुसमा सम्पन्न संघको ३८औँ वार्षिक साधारणसभाका बेला माछापुच्छ्रे बैंकका तत्कालीन सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचन दुवैले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका थिए।

त्यस समयमा अध्यक्ष चयनलाई लिएर बैंकका प्रमुख कार्यकारीहरूबीच प्रतिस्पर्धा देखिएपछि पूर्वअध्यक्षहरूले समेत सहमति कायम गराउन पहल गरेका थिए। अन्ततः शेरचनले आफ्नो दाबी छाडेपछि कोइराला अध्यक्ष र रेग्मी उपाध्यक्ष बनेका थिए। अहिले सोही व्यवस्थाअनुसार रेग्मी अध्यक्ष बन्ने बाटो खुलेको हो।

कार्यसमितिमा पनि फेरबदल

अध्यक्ष र उपाध्यक्ष चयनसँगै नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिमा समेत केही परिवर्तन हुने भएको छ। हाल अध्यक्ष सन्तोष कोइराला र उपाध्यक्ष सुरेन्द्रराज रेग्मी रहेको कार्यसमितिमा कुमारी बैंकका रामचन्द्र खनाल, नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, नेपाल बैंकका तिलकराज पाण्डे र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह सदस्य छन्।

साधारणसभापछि एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह कार्यसमितिबाट बाहिरिने भएका छन्। संघको व्यवस्थाअनुसार दुई कार्यकालभन्दा बढी कार्यसमितिमा रहन नपाइने भएकाले खालिङ बाहिरिन लागेका हुन्। त्यस्तै, लक्ष्मी सनराइज बैंकमा आफ्नो कार्यकाल पूरा भएसँगै शाह पनि संघको कार्यसमितिबाट अलग हुने भएका छन्।

उनीहरूको स्थानमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य कार्यकारिणी सदस्यका रूपमा आउने सहमति भएको छ। 

यससँगै आगामी कार्यसमितिमा बैंकिङ क्षेत्रका अनुभवी प्रमुख कार्यकारीहरूको प्रतिनिधित्व रहनेछ। नयाँ नेतृत्वले वाणिज्य बैंकहरूबीचको समन्वय, बैंकिङ क्षेत्रका साझा समस्या तथा नीतिगत विषयमा नेपाल राष्ट्र बैंक र सरकारसँगको संवादलाई कसरी अघि बढाउँछ भन्ने चासोको विषय हुनेछ।

नेपाल बैंकर्स संघ वाणिज्य बैंकहरूको साझा प्रतिनिधिमूलक संस्था हो। बैंकिङ क्षेत्रका नीतिगत व्यवस्था, नियामकीय प्रावधान, ब्याजदर, तरलता व्यवस्थापन तथा बैंकिङ व्यवसायसँग सम्बन्धित साझा विषयमा संघले बैंकहरूको धारणा प्रस्तुत गर्दै आएको छ। त्यसैले संघको नयाँ नेतृत्वले आगामी दिनमा लिने संस्थागत पहल र प्राथमिकतालाई बैंकिङ क्षेत्रले महत्त्वका साथ हेर्नेछ।