एक हप्तामा ९ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, किन बढिरहेको छ? यस्तो छ कारण

Jan 17, 2026 06:05 AM Merolagani



पछिल्लो एक हप्तामा सुनको मूल्य ९ हजार ४०० रुपैयाँले बढेको छ ।

गत पुस २५ गते शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य माघ २ गते शुक्रबारसम्म आइपुग्दा ९ हजार ४०० रुपैयाँले बढेर २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत पुस २७ गते आइतबार सुनको मूल्य बढेर २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो । त्यस्तै, पुस २८ गते सोमबार पुनः ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, अघिल्लो दिनको तुलनामा पुस २९ गते मंगलबार १ हजार ८०० रुपैयाँले मूल्य बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्यो । पुस ३० गते बुधबार १५०० रुपैयाँले सुनको मूल्य बढेर २ लाख ७८ हजार रुपैयाँमा कारोबार भयो ।

त्यस्तै, माघ १ गते बिहीबार भने १५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भयो । माघ २ गते शुक्रबार पुनः ७०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्नुको पछि धेरै कारण रहेको सुन व्यवसायीहरु बताउँछन् । सुनको मूल्य लगातार बढ्नुमा केही आन्तरिक र बाह्य कारण रहेको व्यवसायी बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले सुनको मूल्य बढ्नुमा विकसित देशहरुमा सुन अधिक संचिति हुनु, अन्तराष्ट्रिय रुपमा हुने कारोबार र विभिन्न देशबीच चलिरहेको युद्ध तथा अशान्त वातावरणको कारण मान्छन् ।

अहिले लगनको महिना भएकाले नयाँ सुनका गहना खरिद गर्ने हुँदा त्यसको मूल्य स्वभाविक रुपमा बढ्ने उनको बुझाइ छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।