अर्थमन्त्रीको आश्वासनसँगै बढ्यो नेप्से

Apr 06, 2026 03:18 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। पछिल्ला दिनहरुमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा व्यवसायीहरु पनि पक्राउ पर्न थालेपछि प्यानिक भएको शेयर बजार, यस दिन अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनसँगै बढ्न पुगेको हो।

आइतबार १०० अंकभन्दा बढी घटेर बन्द भएपछि आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरुले अर्थमन्त्री वाग्लेलाई भेट्न पुगेका थिए। उक्त भेटमा वर्तमान सरकार निजी क्षेत्र र पूँजीबजार मैत्री रहेको आश्वासन दिँदै इन्साइडर ट्रेडिङ्ग, म्यानिपुलेसन र अन्य अनैतिक कार्य नगरेमा प्यानिक हुनु नपर्ने बताएका थिए। त्यसको प्रभाव यस दिनको बजारमा परेको जानकारहरु बताउँछन्।

सोमबार नेप्से परिसूचक ८३.३३ अंक बढेर २७६०.०२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १४.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिनको भोल्यूम, अघिल्लो दिनको तुलनामा कम रहेको छ। आइतबार १२ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको १ लाख २४ हजार ९३ पटकको कारोबारमा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको २ करोड ५१ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँको शेयर किनबेच भएकोछ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ४ प्रतिशत बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।