जीवन बीमा बजारमा सुगम र दुर्गमको खाडल: बागमतीमा उच्च कारोबार, कर्णाली-सुदूरपश्चिममा नगण्य

Aug 06, 2026 12:55 PM Merolagani



मुलुकमा जीवन बीमाको पहुँच र व्यवसायमा ठूलो प्रादेशिक असन्तुलन रहेको तथ्य बाहिर आएको छ। देशका सात वटा प्रदेशहरूको बीमा कारोबारको तथ्याङ्कले सहरीकरण र आर्थिक समृद्धिको केन्द्र मानिएको बागमती प्रदेशमा बीमा व्यवसाय अत्यधिक उच्च रहेको देखाएको छ । 

यता सुदूरपश्चिम र कर्णाली प्रदेशमा बीमाको दायरा अझै पनि निकै खुम्चिएको प्रस्ट पारेको छ। आर्थिक वर्षको मसान्तसम्मको तथ्याङ्क अनुसार भौगोलिक हिसाबले बीमा बजारमा देखिएको यो खाडलले राज्यका सुगम र दुर्गम क्षेत्रबीचको आर्थिक असमानतालाई उजागर गरेको छ।

बागमती प्रदेशमा मात्रै संकलित कुल बीमाशुल्क ८६ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी पुगेको छ जुन अन्य प्रदेशहरूको तुलनामा उच्च देखिएको छ। देशका अन्य प्रदेशहरूको व्यवसाय पनि सन्तोषजनक नै रहेको छ।

 

कुल संकलित बीमाशुल्कमध्ये लुम्बिनी प्रदेशमा ३३ अर्ब रुपैयाँ, कोशी प्रदेशमा २५ अर्ब १० करोड रुपैयाँ, गण्डकी प्रदेशमा २१ अर्ब ३० करोड रुपैयाँ र मधेस प्रदेशमा १९ अर्ब १० करोड रुपैयाँ कारोबार भएको छ। यसैगरी, भौगोलिक रूपमा विकट मानिएका सुदूरपश्चिम प्रदेशमा १२ अर्ब ८० करोड रुपैयाँ र कर्णाली प्रदेशमा भने जम्मा ६ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ। समग्रमा देशभरका सबै प्रदेशहरूबाट करिब दुई सय अर्ब रुपैयाँ बराबरको कुल बीमा व्यवसाय संकलन भएको छ।

सक्रिय बीमालेखहरूको संख्यामा पनि यही प्रादेशिक भिन्नता स्पष्ट रूपमा झल्किएको छ। बागमती प्रदेशमा करोडौँको संख्यामा सक्रिय बीमालेखहरू कायम रहेका छन् भने कर्णाली र सुदूरपश्चिम जस्ता प्रदेशहरूमा जनसङ्ख्या र भौगोलिक कठिनाइ तथा चेतनाको अभावका कारण बीमाको पहुँच अझै पनि सीमित दायरामा रहेको छ। नेपालको जीवन बीमा बजार कागजी रूपमा फराकिलो देखिए पनि यसको वास्तविक लाभ र पहुँच अझै पनि समान रूपमा वितरण हुन नसकेको र यसले प्रादेशिक असमानताको गहिरो खाडललाई प्रष्ट पारेको अर्थविद्हरूको ठहर छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।