शेयर लगानीकर्ताका लागि पनि यसको अर्थ हुन सक्छ,केही दिन बजार बन्द हुँदा मूल्यको उतारचढावबाट टाढा रहेर आफ्नै लगानीको आधार बुझ्ने।
बजारको पछिल्लो तथ्याङ्कले नेप्सेमा सामान्य साप्ताहिक सुधार देखाए पनि कारोबार रकम खुम्चिएको र विभिन्न क्षेत्रको प्रदर्शन असमान रहेको बताउँछ। ऐतिहासिक तथ्याङ्कले पनि दशैंपछि बजार सधैँ बढ्छ वा घट्छ भन्ने निश्चित नियम देखाउँदैन।
त्यसैले दशैंपछि नेप्से कहाँ पुग्छ भन्ने प्रश्नभन्दा पहिले आफूले किन शेयर किनेको हो, कुन जोखिम लिइरहेको छु र मेरो लगानीको आधार कति बलियो छ भन्ने प्रश्नको उत्तर खोज्नु आवश्यक छ।
बजारको हरेक गिरावटमा अत्तालिनु र हरेक वृद्धिमा उत्साहित हुनु लगानी रणनीति होइन। मूल्यको उतारचढावबीच पनि आफ्नो निर्णयको आधार कायम राख्न सक्नु नै परिपक्व लगानीको पहिचान हो।
दशैं बिदाले बजारको दिशा बदल्ने ग्यारेन्टी दिन सक्दैन। तर यसले लगानीकर्तालाई आफ्नो सोच बदल्ने, गल्तीबाट सिक्ने र भविष्यका निर्णय अझ विवेकपूर्ण बनाउने अवसर अवश्य दिन सक्छ।
भनिरहनु पर्दैन, दशैंको उल्लास सुरु हुँदै गर्दा नेपालको शेयर बजारमा भने उत्साहभन्दा अन्योल बढी देखिएको छ। एकातिर बजारमा लगानीकर्ताको सम्पत्ति घटिरहेको छ, कारोबार रकम खुम्चिएको छ र धेरै लगानीकर्ता बजारको आगामी दिशाबारे अनिश्चित छन्। अर्कोतिर दशैंको लामो बिदाले केही दिनका लागि भए पनि दैनिक मूल्य उतारचढाव, ब्रोकरको स्क्रिन र शेयर बजारका हल्लाबाट टाढा रहेर आफ्नो लगानीको समीक्षा गर्ने अवसर दिएको छ।
लगानीकर्ताको सहभागिता र कारोबारको गति पनि कमजोर भैरहेका छन्। तर बजारको प्रत्येक गिरावटलाई सङ्कट र प्रत्येक वृद्धिलाई पुनरुत्थान मान्ने प्रवृत्तिबाट बाहिर निस्कनु अहिलेको आवश्यकता हो।
शेयर बजारलाई आशाको बजार मानिन्छ । आज भएन, भोली त होला नी भन्ने आशामा लगानीकर्ता बजारमा सक्रिय रहन्छन् । तर, त्यो आशा कहिलेसम्म ? अहिलेको लागि सबैभन्दा ठूलो प्रश्न यही हो । किनकी पुराना पार्टीले गरेनन् भन्दै बनेको नयाँ सरकार, त्यसमाथि लोकप्रियताको चुलीमा रहेका प्रधानमन्त्री बालेन र अर्थमन्त्रीमा दिग्गज अर्थशास्त्री भनिएका डा. स्वर्णिम वाग्ले नियुक्त भएपछि त शेयर बजारमा चमत्कारै होला भन्ने आशा थियो । तर, परिणाम के भयो ? सरकार बने यताका झण्डै आठ महिनाको नेप्से परिसूचक साक्षी छ ।
नयाँ सरकार बन्यो — अब बजार सुधार हुन्छ ।
डा. स्वर्णिम वाग्ले जस्ता दिग्गज अर्थमन्त्री बने— अब बजार सुधार हुन्छ ।
नयाँ बजेट आउंदैछ — अब बजार सुधार हुन्छ ।
नयाँ आर्थिक वर्ष आउंदैछ — अब बजार सुधार हुन्छ ।
दशैं आउंदैछ — अब बजार सुधार हुन्छ ।
यस्तो भन्दाभन्दै,आशाको लालसामा बस्दा बस्दै दिन विते, महिना विते र शायद अब वर्ष पनि वित्ला । तर, शेयर बजारको अवस्था के होला ? लगानीकर्ताले खोजेको आशा कहिले पुरा होला ?
लौ बर्बादै भयो, बिचल्ली नै भयो भन्ने होइन । तर, यो सरकार,यी प्रधानमन्त्री, यी अर्थमन्त्री र अहिलेको धितोपत्र वोर्डको कार्यशैलीले लगानीकर्ता कतिन्जेल आशामा टिकिरहन सक्छन् ? यो प्रश्न उठ्ने अवस्था सृजना गरिएको छ ।
‘यसो भएर त्यसो भएपछि बजारमा यस्तो हुन्छ’ भन्दै अमुर्त शैलीमा सामाजिक संजालमा चर्कै स्वरले कुरा गर्नेहरुलाई सुन्नु, हेर्नु र त्यही आधारमा धारणा बनाउनु भन्दा आत्म चिन्तन गरेर दशैं पछिको बजारको लागि आफ्नो रणनीति तयार गर्नु जरुरी छ ।
त्यसको लागि लगानीकर्ताले यी विषयमा ध्यान दिनु जरुरी छः
आत्मचिन्तनको पहिलो प्रश्नः म लगानीकर्ता हुँ कि बजारको हल्लाको अनुयायी ?
शेयर बजारमा घाटा हुनु आफैँमा लगानी असफल भएको प्रमाण होइन। तर किन सेयर किनेको हो, कम्पनीको अवस्था के छ र मूल्य घट्दा आफ्नो निर्णयको आधार बदलिएको छ कि छैन भन्ने प्रश्नको उत्तर नखोज्नुचाहिँ जोखिमपूर्ण हो।
बजार बढ्दा अरूले कमाएको देखेर किन्ने र घट्दा अरू बेचिरहेको देखेर बेच्ने प्रवृत्तिले लगानीकर्तालाई आफ्नै निर्णयभन्दा भीडको मनोविज्ञानको अनुयायी बनाउँछ। यस्तो अवस्थामा कम्पनीको वास्तविक मूल्य, आम्दानी र वित्तीय अवस्थाभन्दा बजारको दैनिक उतारचढावले निर्णय प्रभावित गर्न थाल्छ।
दशैंको बिदामा लगानीकर्ताले आफ्नो पोर्टफोलियोलाई तीन कोणबाट समीक्षा गर्न सक्छन्।
पहिलो, लगानीको आधार
आफूले शेयर किनेको कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, ऋणको अवस्था, नगद प्रवाह, लाभांश क्षमता र भविष्यको व्यावसायिक सम्भावना कस्तो छरु शेयरको मूल्य घटेको कारण बजारको अस्थायी मनोविज्ञान हो कि कम्पनीको व्यावसायिक अवस्था बिग्रिएको हो ?
दोस्रो, यथार्थ मूल्याङ्कन।
राम्रो कम्पनीको सेयर पनि अत्यधिक मूल्यमा किन्दा कमजोर लगानी बन्न सक्छ। त्यसैले कम्पनी राम्रो छ भन्दैमा जुनसुकै मूल्यमा शेयर किन्नु उचित हुँदैन। बजारमा लोकप्रिय भएको कम्पनी र उचित मूल्यमा उपलब्ध कम्पनीबीचको भिन्नता बुझ्नु आवश्यक छ।
तेस्रो, आफ्नो आर्थिक क्षमता
घरखर्च, शिक्षा, स्वास्थ्य वा अन्य आवश्यकताका लागि चाहिने रकम शेयरमा लगानी गरिएको छ कि छैन ? ऋण लिएर लगानी गरिएको छ भने ब्याज तिर्न सक्ने क्षमता कति छ ? बजार लामो समयसम्म कमजोर रह्यो भने पनि दैनिक जीवन प्रभावित नभई लगानी धान्न सकिन्छ कि सकिँदैन ?
यी प्रश्नको उत्तरले बजारमा भोलि मूल्य बढ्छ कि घट्छ भन्ने बताउँदैन। तर बजारको कुनै पनि दिशामा आफ्नो निर्णय कति विवेकपूर्ण छ भन्ने बुझ्न मद्दत गर्छ।
मार्जिन कर्जाको दबाबः बजार बन्द हुँदा पनि चलिरहने हिसाब
दशैंको बिदामा शेयर कारोबार रोकिए पनि लगानीकर्ताका सबै आर्थिक दायित्व रोकिँदैनन्। विशेषगरी मार्जिन कर्जा लिएर सेयर किनेका लगानीकर्ताका लागि ब्याज, किस्ता र धितोको मूल्यसम्बन्धी जोखिम यथावत् रहन्छ।
यसले बजारको एउटा महत्त्वपूर्ण यथार्थ देखाउँछ—सबै लगानीकर्ताले मूल्य घट्दा सेयर बेच्नुको कारण कम्पनीप्रतिको विश्वास गुमाउनु मात्र हुँदैन । कसैलाई ब्याज तिर्नुपर्ने हुन सक्छ, कसैलाई घरायसी खर्चका लागि नगद चाहिएको हुन सक्छ र कसैले आफ्नो जोखिम घटाउन खोजिरहेको हुन सक्छ।
त्यसैले कारोबारमा देखिएको बिक्रीलाई सधैँ कम्पनीको भविष्यप्रतिको नकारात्मक संकेत मान्नु हुँदैन। तर ऋणको दबाबमा सेयर बेच्नुपर्ने अवस्था आउनु लगानीकर्ताका लागि गम्भीर जोखिम हो।
बजारको अर्को परीक्षाः तरलता, नीति र विश्वास
नेप्सेको पुनरुत्थानका लागि केवल लगानीकर्ताको मनोबल बढ्नु पर्याप्त हुँदैन। बजारमा लगानीयोग्य रकमको उपलब्धता, बैंक तथा वित्तीय संस्थाको ब्याजदर, कम्पनीहरूको वित्तीय अवस्था र नियामकीय स्थिरता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।
अहिले बजारमा देखिएको अर्को प्रश्न कारोबारको गुणस्तर हो। कारोबार रकम बढे पनि सूचकमा व्यापक सुधार भएन भने बजारको वृद्धि सीमित हुन सक्छ। त्यस्तै, सूचक केही अंक बढ्दा कारोबार रकम लगातार घटिरहेको छ भने त्यसलाई बलियो पुनरुत्थानको प्रमाण मान्न हतार गर्नु हुँदैन।
लगानीकर्ताले बजारको भविष्यबारे निष्कर्ष निकाल्दा कम्पनीको वित्तीय विवरण, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, नेपाल धितोपत्र बोर्डका नियामकीय निर्णय तथा समग्र अर्थतन्त्रका सूचकलाई पनि हेर्नुपर्छ। बजारको दिशा अनुमान गर्नेभन्दा पनि आफ्नो लगानीलाई विभिन्न सम्भावित अवस्थाका लागि तयार पार्नु बढी उपयोगी हुन्छ।
दशैंको बिदामा लगानीकर्ताले गर्न सक्ने पाँच काम
आफ्नो पोर्टफोलियोमा रहेका कम्पनीको पछिल्लो वित्तीय विवरण पढ्ने।
किन सेयर किनेको थियो भन्ने आधार र अहिलेको अवस्थाबीच तुलना गर्ने।
मार्जिन कर्जा, ब्याज र नगद आवश्यकताको वास्तविक हिसाब निकाल्ने।
एउटै क्षेत्र वा केही कम्पनीमा अत्यधिक लगानी केन्द्रित भएको छ कि छैन जाँच्ने।
बजार खुलेपछि के गर्ने भन्ने निर्णय हल्ला वा अरूको सल्लाहमा होइन, आफ्नो लगानी योजना र जोखिम वहन गर्ने क्षमताका आधारमा तय गर्ने।