आर्थिक सबलताको उचाइमा साहस ऊर्जाः ८६ मेगावाटको सफलतापछि ३४१ मेगावाटको नयाँ आयोजना बनाउने बाटोमा

May 24, 2026 01:23 PM Merolagani



हरिप्रसाद शर्मा

नेपालको जलविद्युत् विकासमा निजी क्षेत्रको सहभागिता बढ्दो छ । त्यस्तो निजी हाइड्रोपावर कम्पनी स्थापना भइ आर्थिक रुपमा सफल बनेको केही सीमित कम्पनी मात्रै छन् । त्यसमध्ये एक हो, साहस ऊर्जा लिमिटेड ।

वि.सं २०७० माघ १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ कम्पनी स्थापना भएको थियो ।

कम्पनीले सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनाहरू निर्माण गर्न सकिन्छ भन्ने उच्च आत्मविश्वासका साथ अघि बढेको यो कम्पनी आज नेपालको ऊर्जा क्षेत्रमा एक स्थापित नाम बनिसकेको छ ।

सोलुखोलाबाट कम्पनीको पहिलो व्यावसायिक सफलता

साहस ऊर्जाको पहिलो र मुख्य व्यावसायिक सफलता ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना हो । यो आयोजनाले २०७९ फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् प्रवाह गरिरहेको छ । आयोजना निर्माणका क्रममा आएका प्राकृतिक र प्राविधिक चुनौतीहरूलाई चिर्दै कम्पनीले यसलाई सफलतापूर्वक सञ्चालनमा ल्याएको हो ।

आम्दानी र नाफामा उत्साहजनक वृद्धि

कम्पनीको वित्तीय अवस्था हेर्दा स्थापनाकालदेखि हालसम्म आइपुग्दा यसले ठूलो फड्को मारेको देखिन्छ । आयोजनाले पूर्ण क्षमतामा उत्पादन सुरु गरेसँगै कम्पनीको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा विद्युत् बिक्रीबाट २ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेकोमा आव २०८१/८२ मा यो बढेर २ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत आर्थिक वर्षको ४२ करोड ३ लाख रुपैयाँको तुलनामा यस आर्थिक वर्षमा खुद नाफा ११३ प्रतिशतले बढेर ८९ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

पुँजी संरचना र शेयर बजारमा सूचीकरण

कम्पनीको आव २०८/०८२ सम्मको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सर्वसाधारणमा शेयर जारी गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । विशेषगरी २०८१ असोज १७ गतेदेखि संस्थापक शेयरधनीहरूको ’लकिङ पिरियड’ सकिएपछि सबै शेयरहरू सर्वसाधारण शेयरकै रूपमा कारोबार भइरहेका छन् ।

ऋण र लगानीको अवस्था

ठूला आयोजनाहरू निर्माणका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएको छ । हाल कम्पनीको दीर्घकालीन ऋण ९ अर्ब १७ करोड ६९ लाख रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो ऋण दायित्वलाई क्रमशः भुक्तानी गर्दै लैजाने योजना बनाएको छ ।

लगानी विविधीकरण र सहायक कम्पनीहरू

साहस ऊर्जाले जलविद्युत् मात्र नभई अन्य क्षेत्रमा पनि लगानी विविधीकरण गरेको छ । कम्पनीले आफ्नो सहायक कम्पनी सोलु कृषि फार्म प्रालि स्थापना गरी कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीले शतप्रतिशत स्वामित्व रहने गरी यो कम्पनी सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, कम्पनीले बूढीगण्डकी आयोजना निर्माणका लागि अर्को कम्पनी स्थापना गरेको छ । टाइम्स इनर्जी प्रालिमा कम्पनीको ५६.६७ प्रतिशत शेयर स्वामित्व ग्रहण गरिसकेको छ, जसलाई भविष्यमा ५१ प्रतिशत कायम राख्ने योजना छ ।

लाभांश इतिहास र वर्तमान प्रस्ताव

कम्पनीले आफ्ना शेयरधनीहरूलाई उचित प्रतिफल दिँदै आएको छ । १२ औँ वार्षिक साधारण सभाका लागि कम्पनीले २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअघि गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

कम्पनी सञ्चालक समिति

कम्पनीको नेतृत्व ७ सदस्यीय अनुभवी सञ्चालक समितिले गरिरहेको छ । जसमा अध्यक्ष हिम प्रसाद पाठक, सञ्चालकहरुमा सुशिल थापा, मुक्तिराम पाण्ड, महेन्द्र कुमार गिरी, आङ गेलु शेर्पा, गरिमा अधिकारी र स्वतन्त्र सञ्चालकमा विभूती ओझा रहेका छन् ।

1000

भविष्यको मार्गचित्र 

साहस ऊर्जाले आगामी दिनका लागि ठूला र महत्त्वाकांक्षी योजनाहरू तय गरेको छ । कम्पनीले भविष्यमा बूढीगण्डकी जलविद्युत् आयोजना (३४१ मेगावाट) निर्माण गर्न सहायक कम्पनी टाइम्स इनर्जीमार्फत यो ठूलो आयोजनाको विकास गर्ने कार्यलाई तीव्रता दिइएको छ । यसको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ र ऋण लगानीका लागि बैंकहरूसँग सम्झौता भइसकेको छ ।

त्यस्तै काठमाडौँको हात्तीसारमा कम्पनीको आफ्नै अत्याधुनिक भवन निर्माण गर्ने योजना छ । कम्पनीले अन्य उपयुक्त जलविद्युत् आयोजनाहरू पहिचान गरी लगानी विस्तार गर्ने र देशको ऊर्जा संकट समाधानमा थप योगदान दिने कम्पनीको लक्ष्य रहेको छ ।

निष्कर्षमा, साहस ऊर्जा लिमिटेडले छोटो समयमै आफूलाई एक नाफामूलक र भविष्यमा ठूलो सम्भावना बोकेको ऊर्जा कम्पनीको रूपमा प्रमाणित गरेको छ ।