तादीदेखि ६५ मेगावाटको दुधखोलासम्मः उर्जा क्षेत्रमा दायरा बढाउँदै गएको माउन्टेन इनर्जीको यस्तो छ सफलताको कथा

Jun 30, 2026 10:11 AM Merolagani



हरिप्रसाद शर्मा

नेपालको जलविद्युत क्षेत्रमा एउटा बलियो खम्बाको रूपमा स्थापित कम्पनी हो, माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) । 

यो कम्पनी २०५९ साल भदौ ९ गते प्राइभेट लिमिटेडको रूपमा दर्ता भई पछि पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो । कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको डिल्लीबजारमा रहेको छ ।

कम्पनीले आफ्नो व्यावसायिक यात्रा जलविद्युत आयोजनाको विकास र सञ्चालनबाट सुरु गरेको हो । यसको पहिलो आयोजना तादी खोला (५ मे.वा.) ले २०६९ चैत १ गतेबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीको मुख्य उद्धेश्य जलविद्युत उत्पादनका लागि आयोजनाहरूको पहिचान, निर्माण र सञ्चालन गर्नुका साथै जलविद्युत उत्पादन गर्ने अन्य कम्पनीहरूमा लगानी गर्नु रहेको छ ।

कम्पनीको सफलताः तादीदेखि मिष्ट्री खोलासम्म

कम्पनीको सफलताको जग २०६९ सालमा बसेको थियो, जब यसको पहिलो आयोजना तादी खोला जलविद्युत आयोजना (५ मे.वा.) ले उत्पादन सुरु गर्यो । तर, कम्पनीलाई साँच्चैको वित्तिय उचाईमा पुर्याउने काम भने म्याग्दीमा अवस्थित मिष्ट्री खोला जलविद्युत आयोजना (४२ मे.वा.) ले गरेको छ । २०७८ साल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको यो आयोजना हाल पूर्ण क्षमतामा चलिरहेको छ, जसले कम्पनीको ढुकुटीमा डलर र रुपैयाँको वर्षा मात्र गरेको छैन, राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान समेत पुर्‍याएको छ ।

शेयरधनीलाई आकर्षक लाभांश

कम्पनीले आफ्नो नाफाको हिस्सा शेयरधनीहरूलाई बाँड्न कुनै कञ्जुस्याईं गरेको छैन । आव २०८१।०८२ मा कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यसका साथै कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिएको थियो । त्यसबेला चुक्ता पूँजी २ अर्ब ६० करोड रहेकोमा बोनस वितरणपछि कुल चुक्तापूँजी र लगानीकर्ताको सम्पत्तिमा वृद्धि भएको छ ।

कम्पनीको वित्तीय विवरण हेर्दा गत आव २०८१/८२ मा माउन्टेन इनर्जीले ’सरप्राइज’ दिएको थियो । कम्पनीले उक्त आवमा ६१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो, जुन अघिल्लो आर्थिक वर्ष (२६ करोड ८९ लाख) को तुलनामा झण्डै १२९ प्रतिशतको वृद्धि हो । सो अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी पनि १ अर्ब ४ करोडबाट बढेर १ अर्ब ३९ करोड २९ लाख पुगेको थियो । गत आवमा कम्पनीको कुल सम्पत्ति हाल ७ अर्ब १६ करोड ९५ लाख पुगेको थियो ।

वित्तिय अवस्थाः उत्साहजनक वृद्धि

कम्पनीको आव २०८२/०८३ को तेस्रो त्रैमासिक (२०८२ चैत मसान्तसम्म) को अपरिस्कृत वित्तीय विवरण हेर्दा, कम्पनीको चुक्तापूँजी र सम्पत्ति समेतमा वृद्धि भएको छ । उक्त अवधिसम्म कम्पनीको कुल चुक्तापूँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति भने ७ अर्ब ६२ करोड २२ लाख पुगेको छ । जसले कम्पनीको बलियो आर्थिक आधारलाई स्पष्ट पार्छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ करोड ७६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९२ करोड २७ लाख रुपैयाँबाट बढेर १ अर्ब ७ करोड ९७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६९ करोड २२ लाख रुपैयाँबाट बढेर ७२ करोड २७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६६ करोड ८ लाख रुपैयाँबाट बढेर ६८ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा १८ करोड १७ लाख रुपैयाँबाट घटेर १६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७१ पैसा रहेको छ।

नेप्सेमा बलियो पकड

यो कम्पनी सेयर बजारमा एक उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको रूपमा स्थापित छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३९ लाख ३६ हजार ५४ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । २०७७ मंसिर ३० गते नेप्सेमा औपचारिक रूपमा सूचीकृत भएदेखि नै यो कम्पनी लगानीकर्ताको आकर्षणको केन्द्रमा रहँदै आएको छ । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (माघ–चैत) मा कम्पनीको शेयर मूल्य रु. ५६५ देखि रु. ६५५ को बीचमा रह्यो । चैत मसान्तमा रु. ५९९ मा कारोबार बन्द भएको यस कम्पनीको शेयरमा लगानीकर्ताको ठूलो भरोसा देखिन्छ ।

अनुभवी नेतृत्व र सञ्चालक समिति

कम्पनीको सफलताको पछाडि अनुभवी नेतृत्वको हात रहेको छ । नेपालको उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व प्रदिप जंग पाण्डेले अध्यक्षको रूपमा कम्पनीलाई दिशा निर्देश गरिरहेका छन् । सञ्चालक समितिमा अरुण कुमार के.सी., टिका प्रसाद उप्रेती, झनक दत्त खनाल र रचना अधिकारीजस्ता व्यावसायिक व्यक्तित्वहरू रहेका छन्, जसले कम्पनीको सुशासन र पारदर्शितालाई कायम राखेका छन् ।

1000

भावी योजनाः लगानी विविधिकरण र विस्तार

माउन्टेन इनर्जी हाल सञ्चालनमा रहेका आयोजनामा मात्र सीमित हुन चाहँदैन । कम्पनीले भविष्यका लागि दुई ठूला योजनाहरू अघि सारेको छ । पहिलो मिष्ट्री खोला–२ (१२ मे.वा.) जलविद्युत् आयोजना अघि बढाइरहेको छ । मिष्ट्री खोलाकै क्यास्केड आयोजनाको रूपमा यसलाई अघि बढाउन खोजिएको छ ।

त्यस्तै, कम्पनीले अर्को एक महत्वपूर्ण जलविद्युत् आयोनजाको अध्ययनकार्य अघि बढाइरहेको छ । खासगरी, मनाङमा ६५ मेगावाटको दुधखोला जलविद्युत आयोजना आयोजनामा कम्पनीले बहुमत सेयर खरिद गरी लगानी विस्तार गर्ने प्रक्रिया सुरु गरिसकेको छ । उक्त जलविद्युत् आयोजनाको अध्ययनकार्य भइरहेको कम्पनी सचिव समबहादुर भट्टले बताए ।

उनका अनुसार, माउन्टेन इनर्जी नेपाल लिमिटेड एक सुरक्षित र विस्तारोन्मुख कम्पनीको रूपमा देखिएको छ । बलियो नगद प्रवाह, अनुभवी व्यवस्थापन र भावी आयोजनाहरूको स्पष्ट खाकाले गर्दा यो कम्पनी जलविद्युत क्षेत्रमा लगानी गर्न चाहनेहरूका लागि एक उत्कृष्ट रोजाइ बन्न पुगेको छ । तादी खोलाबाट सुरु भएको यो यात्रा अहिले ६५ मेगावाटको दुध खोलातिर लम्किँदै गर्दा, माउन्टेन इनर्जीले नेपालको उर्जा क्षेत्रमा आफूलाई एउटा ’उर्जावान् शक्ति’ को रूपमा प्रमाणित गरेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।