२२.५ मेगावाटको बिजुली उत्पादन थालेको ठूलो खोला हाइड्रोपावर लिमिटेडः आईपीओ र नयाँ आयोजनाको यस्तो छ मार्गचित्र

Jun 22, 2026 10:37 AM Merolagani



हरिप्रसाद शर्मा

म्याग्दीको विकट पहाडी कन्दराबाट बग्ने ठूलो खोलाको पानीले २२.५ मेगावाटको बिजुली बालेर राष्ट्रिय प्रणालीसम्म पुर्याउन सफल भएको छ ।

आयोजनाको काम लगभग पूरा भइसकेर आयोजना व्यवसायिक विद्युत् उत्पादन थालिसकेको छ  ।  ठूलो खोला हाइड्रोपावर लिमिटेड यतिबेला आफ्नो सपनाको परियोजना ‘माथिल्लो ठूलो खोला ए जलविद्युत् आयोजना’ (२२.५ मेगावाट) लाई मूर्तरुप दिने चरणमा पुगेको हो ।

यस कम्पनीको यात्रा, आयोजनाले भोगेका चुनौती र यसको आगामी मार्गचित्रलाई यहाँ प्रस्तुत गरिएको छ ।

कम्पनी स्थापना र सञ्चालन

ठूलो खोला हाइड्रोपावर लिमिटेड ऊर्जा क्षेत्रमा एक चिरपरिचत नाम हो । वि.सं. २०७४ वैशाख १० गते प्राइभेट कम्पनीका रुपमा जग बसालेको यो कम्पनीले आफ्नो दायरालाई फराकिलो बनाउन र आम जनसहभागिता जुटाउन वि.सं. २०७९ माघ २३ मा आफूलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्‍यो । यो रूपान्तरण केवल कानुनी प्रक्रिया मात्र थिएन, बरु ऊर्जा क्षेत्रमा एक बलियो र पारदर्शी संस्थाका रूपमा उभिने कम्पनीको अठोट थियो ।

विकटबाट २२.५ मेगावाट विद्युत् उत्पादनतर्फको यात्रा

कम्पनीले पहिलो पटक म्याग्दी जिल्लाको रघुगंगा गरेर कम्पनीले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ‘ए’ जलविद्यु्त् आयोजनाको निर्माण सफल रुपमा सम्पन्न गरिसकेको छ । 

सुरुमा १५ मेगावाटको लक्ष्य लिएर अघि बढेको यो कम्पनीले आफ्नो क्षमता र आत्मविश्वासलाई विस्तार गर्दै २०७८/७९ सालमा आयोजनालाई २२.५ मेगावाटमा अपग्रेड गरेको थियो । यो आयोजनाको ’हेडवर्कस्’ समुद्री सतहदेखि ३००० मिटरको उचाइमा छ भने पावर हाउस २४००-२५०० मिटरको उचाइमा छ । यति उच्च र कठिन भूगोलमा काम गर्नु आफैमा ‘फलामको चिउरा चपाउनु’ सरह थियो ।

विविध कारणले निर्माणमा ढिलाइ, बढ्न गयो लागत

आयोजनाको निर्माण २०८० वैशाखबाट औपचारिक रूपमा सुरु भयो । तर, पहाडको काम सोचेजस्तो सहज भएन । भौगोलिक विकटता, कमजोर माटो, पहिरोको निरन्तर जोखिम र उच्च हिमाली भेगमा हुने अत्यधिक वर्षा तथा हिउँले निर्माण कार्यमा पटक–पटक बाधा पुर्यायो । यी प्राकृतिक चुनौतीका कारण सबस्टेशनको रुट परिवर्तन गर्नुपर्‍यो, जसले सुरुमा अनुमान गरिएको लागत बढ्न पुग्यो । आयोजना निर्माण गर्न सुरुमा ४ अर्ब ४६ करोडको लागत अनुमान गरिएकोमा पछि लागत बढ्न गइ ५ अर्ब १४.५ करोड पुगेको कम्पनीले जनाएको छ ।

‘सुरुमा हामीले ४ अर्ब ४६ करोड लागत अनुमान गरेका थियौँ, तर अहिले बढेर ५ अर्ब १४ करोड पुगेको छ । यसको मुख्य कारण भनेको भूगोल नै हो ।’ कम्पनीका प्रमुख सञ्चालन अधिकृत नविन सिलवालले भन्छन्, ‘पावर हाउस र इन्टेकमा पहिरोको ठूलो जोखिम थियो । माटो खुकुलो थियो, पानी र हिउँ धेरै पर्ने भएकाले काम गर्न गाह्रो भयो । सुरक्षाका लागि धेरै संरचना बनाउनुपर्दा लागत बढ्यो । फेरि प्रसारण लाइनको रुट पनि परिवर्तन गर्नुपर्यो । त्यसले पनि लागत बढायो ।’

यद्यपि, कम्पनीको वित्तीय जग बलियो थियो । सिटिजन्स बैंकको नेतृत्वमा सनराइज बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकले कुल ३६९.५ करोडको कर्जा प्रवाह गरी आयोजनालाई सुरक्षित अवतरणतर्फ डोर्‍याउन सफल भए ।

निर्माण सम्पन्न र उत्पादन

कम्पनीले २०८१ फागुन मसान्तभित्रै सिभिल र हाइड्रो–मेकानिकलतर्फका प्रमुख कामहरू सम्पन्न गरिसकेको छ , यतिबेला सबैको आँखा कहिले विद्युत् उत्पादन सुरु हुन्छ भन्नेमा अडिएको छ । इलेक्ट्रो–मेकानिकल सामानको आपूर्तिमा भएको ढिलाइ र बीचमा परेका निर्वाचनका कारण केही ढिला गरी आयोजनाले बत्ती बालिसकेको छ ।

‘इलेक्ट्रो–मेकानिकल सामान आउन ढिला भएको र बीचमा चुनाव परेकाले केही महिना ढिलो भयो । त्यसकारण पनि व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने मिति पर धकेलिएको हो,’ सिलवालले बताए । आयोजनाले ६ किलोमिटर आफ्नै प्रसारण लाइन बनाएर राहुघाट सबस्टेशनमार्फत विद्युत राष्ट्रिय प्रणालीमा जडान गरेको हो ।

नेतृत्व र पूँजीको सन्तुलन

कुनै पनि कम्पनीको सफलता त्यसको नेतृत्वमा भर पर्छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडलाई नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा श्वेता अधिकारी, धिरज कार्की, बाबुराजा चक्रधर र राजेश काजी श्रेष्ठ जस्ता अनुभवी सञ्चालकहरूको समितिले कुशलतापूर्वक हाँकिरहेको छ । २७५ करोडको कुल चुक्ता पूँजीमध्ये १९२.५ करोड प्रवर्द्धकहरूको लगानी छ भने बाँकी ८२.५ करोड सर्वसाधारण (आइपीओ) बाट जुटाउने कम्पनीको तयारी छ ।

आगामी मार्गचित्रः लगानी विविधीकरणको नयाँ अध्याय

यो कम्पनी एउटा आयोजना सम्पन्न गरेर विश्राम लिने सोचमा छैन । यसको आगामी मार्गचित्र अझै महत्वकांक्षी छ । माथिल्लो ठूलो खोला ’ए’ को अनुभवलाई अर्को ठूलो आयोजना ‘ढोरपाटन रन’ (३६.६ मेगावाट) मा लगाउने कम्पनीको योजना छ । यो ‘लगानी विविधीकरण’ को रणनीतिले कम्पनीलाई भविष्यमा ऊर्जा क्षेत्रको एक ठूलो र बहु–आयोजना सञ्चालक संस्थाको रूपमा स्थापित गर्ने निश्चित छ ।

निष्कर्षमा, आगामी ७/८ महिनाभित्रै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने लक्ष्य राखेको ठूलो खोला हाइड्रोपावर लिमिटेडले केवल बिजुली मात्र उत्पादन गर्दै छैन, यसले म्याग्दीको विकट भूगोलमा समृद्धिको बाटो पनि कोर्दैछ । यो कम्पनी लगानीकर्ताका लागि आशा र देशका लागि ऊर्जाको स्रोत बनेर आफुलाई स्थापित गर्न खोजिरहको छ ।