पिपुल्स पावर लिमिटेडः अस्तित्व रक्षाको संघर्षमा रहेको एउटा कम्पनी, यस्तो छ कम्पनीको भित्री कथा

Jul 31, 2026 05:25 PM Merolagani



नेपालको जलविद्युत् क्षेत्रलाई ‘सेतो सुन’ को खानी भनिन्छ । तर, यो सुन उत्खनन गर्ने यात्रा कति जोखिमपूर्ण र चुनौतीपूर्ण छ भन्ने एउटा जीवन्त उदाहरण बनेको छ, पिपुल्स पावर लिमिटेड (PPL) ।

इलामको पहाडी खोँचबाट बग्ने पुवा खोलाको पानीबाट बिजुली निकालेर मुलुकको समृद्धिको सपना बुन्न थालेको यो कम्पनी यतिबेला प्रकृतिको कठोर परीक्षा झेलिरहेको छ ।

कम्पनी स्थापना र संघर्ष

पिपुल्स पावर औपचारिक रुपमा वि.सं. २०७३ मा स्थापना भएको निजी क्षेत्रको ऊर्जा कम्पनी हो । यसले छोटो समयमै ४.९६ मेगावाटको पुवा–२ जलविद्युत आयोजना सम्पन्न गरेर सफलताको लय समातेको थियो । २०७९ मंसिरबाट व्यापारिक उत्पादन सुरु गरेको यो कम्पनीले अहिलेसम्म आइपुग्दा धेरै अनुभव र संघर्ष गर्नुपर्यो ।

कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले भन्छ, ‘आयोजनाले एकपछि अर्को गर्दै प्राकृतिक विपत्तिको सामना गर्नुपर्यो । २०८१ असोजको बाढी र पहिरोले प्रसारण लाइनमा पुर्याएको क्षति र त्यसपछि २०८२ असोजमा आएको भीषण बाढीले आयोजनालाई महिनौँसम्म ठप्प पारिदियो ।’ प्रतिवेदनका अनुसार, पछिल्लो पटक आयोजना ११० दिनसम्म बन्द रहनुपर्यो ।’ यो केवल एउटा मेसिन बन्द भएको घटना मात्र थिएन, यो त सयौँ सर्वसाधारण लगानीकर्ताको प्रतिफलमा लागेको ‘ब्रेक’ थियो ।

कम्पनीको चुक्ता पूँजी र सम्पत्ति

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ८० लाख ४० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ७८ लाख २ हजार रुपैयाँ नाफामा थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ९६ लाख ४० हजार रुपैयाँबाट घटेर ५ करोड ३५ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रत्यक्ष खर्च १ करोड ५७ हजार रुपैयाँबाट बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेसँगै कुल नाफा ५ करोड ९५ लाख रुपैयाँबाट घटेर २ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ।

९४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष सो अवधिसम्ममा ३ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने शेयर प्रिमियम ६ करोड ५४ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५३ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु १०२ रुपैयाँ ९८ पैसा रहेको छ।

नाफामा संकुचन

समिक्षा अवधिमा कम्पनीको नाफामा समेत कमी आएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा १ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको कम्पनीको नाफा २०८१/८२ मा आएर खुम्चिएर केवल ११ लाख ५१ हजारमा सीमित भएको छ ।

बिजुली बिक्रीबाट हुने आम्दानी पनि करिब १० करोड ७७ लाखबाट झरेर ९ करोड ६३ लाखमा ओर्लिएको छ । यो गिरावटको मुख्य कारण बाढीपछिको मर्मत सम्भार र उत्पादनमा आएको अवरोध नै हो । प्रतिवेदनका तस्बिरहरूले आयोजनाको इन्टेक र संरचनाहरू कसरी बालुवा र ढुङ्गाले भरिएका छन् भन्ने प्रस्ट पार्छन्, जसलाई सफा गर्न र पुनः सञ्चालनमा ल्याउन कम्पनीले ठुलो वित्तीय भार खेप्नुपरेको छ ।

शेयरमा प्रवेश र कारोबार

यो कम्पनी नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा समेत सूचीकृत छ । २०७९ साल मंसिर १२ गतेदेखि नेप्सेमा सूचीकृत भइ कम्पनीले आफ्नो शेयर कारोबार गर्दै आएको छ । कम्पनीले हालसम्म सर्वसाधारण शेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन् । सञ्चालक समितिले लाभांश वितरण नगर्ने निर्णय गर्नु लगानीकर्ताका लागि दुःखद भए पनि कम्पनीको अस्तित्व बचाउन यो एक बाध्यकारी कदम देखिन्छ ।

कम्पनीको नेतृत्वमा को–को छन्

कम्पनीलाई सफल बनाउन त्यहाँको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्छ । हाल कम्पनीमा सात सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षमा टङ्कराज अर्याल र सञ्चालकहरुमा आरती अधिकारी, उपेन पराजुली, रामकाजी श्रेष्ठ, उद्धव भट्ट, डेनिस खत्री, निर्वाण शर्मा (स्वतन्त्र सञ्चालक) रहेका छन् ।

सञ्चालक समिति

1000

लगानी विविधिकरण र भावी योजना

पिपुल्स पावरको कथाले नेपालका साना जलविद्युत् आयोजनाहरूको साझा समस्यालाई उजागर गरेको छ । प्रकृतिको अनिश्चितता र जलवायु परिवर्तनको जोखिमका बीच यस्ता आयोजनाहरूलाई टिकाउन केवल इन्जिनियरिङ मात्र पर्याप्त छैन, बलियो वित्तीय योजना र जोखिम व्यवस्थापन पनि उत्तिकै जरुरी छ ।

कम्पनीले आगामी दिनमा आयोजनालाई पूर्ण क्षमतामा चलाउने र वित्तीय अवस्था सुधार्ने लक्ष्य राखेको छ । तर, पुवा खोलाको बहावसँगै कम्पनीको भाग्य जोडिएको छ। यदि आगामी वर्षायाममा आयोजना सुरक्षित रहन सक्यो र उत्पादन निरन्तर भयो भने मात्र पिपुल्स पावरले आफ्ना शेयरधनीलाई पुनः मुस्कुराउने अवसर दिनेछ ।

निष्कर्षमा पिपुल्स पावर लिमिटेड अहिले सङ्घर्षको मोडमा छ । प्रतिवेदनमा समेटिएका बाढीपछिका तस्बिरहरूले विनाशको कथा भन्छन् भने, सञ्चालकहरूको प्रतिबद्धताले पुनरुत्थानको आशा जगाउँछ । जलविद्युत् लगानी धैर्यताको खेल हो भन्ने तथ्यलाई यस कम्पनीको वर्तमान अवस्थाले पुनः एकपटक पुष्टि गरिदिएको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।