सीईडीबी होल्डिङ्सको डेढ दशकः जलविद्युतदेखि एआईसम्मको फड्को, यस्तो छ आगामी कार्यदिशा

Jul 08, 2026 11:17 AM Merolagani



हरिप्रसाद शर्मा

नेपालको जलविद्युत् र स्वच्छ ऊर्जा क्षेत्रमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC) एक अग्रणी नामका रूपमा स्थापित भएको छ ।

सीईडीबी होल्डिङ्स लिमिटेडको सहायक तथा भगिनी कम्पनीका रूपमा कम्पनीले मुख्यतया नेपालमा क्लिन इनर्जी र जलविद्युत् आयोजनाहरूको अध्ययन, पहिचान र निर्माण कार्यलाई मुख्य प्राथमिकता दिँदै आएको छ ।

पृष्ठभूमि र स्थापना

सुरुवाती चरणमा २०६६ मंसिर १५ मा सीईडीबी हाइड्रो फण्ड लिमिटेडका रुपमा स्थापना भए पनि पछि कम्पनीको नाम परिवर्तन भएको थियो । यस कम्पनीको प्रारम्भिक उद्देश्य जलविद्युत् आयोजनाहरू खोज्ने, तिनको विस्तृत अध्ययन गर्ने र निर्माणका लागि तयार भएपछि अन्य प्रवर्द्धकहरूलाई हस्तान्तरण गर्ने रहेको थियो । तर, बजारको माग र आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले पछि आफैँ आयोजना निर्माण गर्ने गरी व्यावसायीक मोडेलमा परिवर्तन ल्याएको थियो । फलस्वरुप, वि.सं २०७५ असार २७ मा कम्पनीको नाम परिवर्तन गरि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी राखियो ।

कम्पनीले हाइड्रोपावरसँगै क्लिन इनर्जीमा समेत लगानी गर्ने भएको हुँदा पछि, २०८१ कात्तिक २० देखि कम्पनीको नाम परिवर्तन भइ सीईडीबी होल्डिङ्स लिमिटेडमा रुपान्तरण भएको छ । यसले हाल सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई नै सहायक कम्पनी बनाएर अहिले विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको विकास र लगानी

कम्पनीले करिब डेढ दशकअघि ४.४ मेगावाटको राधी जलविद्युत् आयोजनाबाट निर्माणको यात्रा सुरु गरेको थियो । त्यसयता कम्पनीले आधा दर्जनभन्दा बढी आयोजनाहरू सफलताका साथ सम्पन्न गरिसकेको छ ।
जसमध्ये कम्पनीले ११ मेगावाटको खारे खोला, १२ मेगावाटको दोर्दी खोला, ४ मेगावाटको खुदी, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना (बुटवल पावर कम्पनीसँगको साझेदारीमा) र ५ मेगावाटको रुकुम गाड जलविद्युत् आयोजना सम्पन्न गरी व्यवसायिक रुपमा विद्युत् उत्पादन गरिरहेको छ ।

कम्पनीको संखुवासभामा ४५ मेगावाटको कसुवा खोला आयोजना निर्माणाधीन अवस्थामा छ भने ४०.७ मेगावाटको छुजुङ खोला आयोजना आगामी वर्षदेखि निर्माणको चरणमा प्रवेश गर्ने सीईडीबी होल्डिङ्स लिमिटेडका निर्देशक उत्तम भ्लोन लामा बताउँछन् ।

कुल चुक्ता पूँजी र सम्पत्ति

कम्पनीको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार, कम्पनीको कुल सम्पत्ती २ अर्ब २३ करोड ३५ लाख पुगेको देखिन्छ । कुल चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रहेको विवरणमा उल्लेख छ । खासगरी, हाइड्रोपावर र अन्य क्षेत्रमा गरेको लगानी गरेर हालसम्म कम्पनीको कुल लगानी १ अर्ब ९१ करोड २८ लाख रुपैयाँ रहेको देखिन्छ । सन् २०२१ जुन, ८ तारिखमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भइ कारोबार भएको थियो ।

शेयर बजारमा सूचीकृत भएका कारण यसका हजारौँ सर्वसाधारण लगानीकर्ताहरू छन् । कम्पनीको पारदर्शी सञ्चालन र आयोजनाहरूको सफल ट्र्याक रेकर्डले यसलाई ऊर्जा क्षेत्रकै भरपर्दो कम्पनीका रूपमा स्थापित गरेको छ ।

कम्पनीको नेतृत्वमा को–को छन् ?

कम्पनी अहिलेको अवस्थासम्म आइपुग्नुका पछाडि कम्पनीको नेतृत्वमा बस्नेहरुको महत्वपूर्ण जिम्मेवारी हुन्छ । कम्पनीको नियमावली अनुसार सञ्चालक समितिमा २ जना स्वतन्त्र सञ्चालक र कम्तीमा १ जना महिला सञ्चालक सहितको प्रतिनिधित्व रहने व्यवस्था छ। हाल सञ्चालक समितिमा ८ जना सदस्यहरू छन् ।

जसमध्ये कम्पनीको सञ्चालक समितिको अध्यक्ष देवी माया न्यौपाने छिन् । उनले संस्थापक समूह वा शेयरधनीहरूको तर्फबाट नेतृत्व गरिरहेकी छन् । त्यस्तै, सञ्चालकहरुमा बद्री नारायण साहु तेली, कासेन्द्रप्रसाद यादव, उत्तम भ्लोन, सुमन काफ्ले, प्रविन महर्जन, संगीता रौनियार र संगीता वि.क. रहेका छन् ।

1000

ऊर्जा विविधीकरणः सौर्य ऊर्जा र प्रविधि

कम्पनीका निर्देशक भ्लोनका अनुसार, सीईडीबी हाइड्रोपावरले जलविद्युतमा मात्र सीमित नभई ऊर्जाका अन्य स्रोतहरूमा पनि लगानी विस्तार गरेको छ । कम्पनीको नेतृत्वमा ३१० मेगावाट क्षमताका सौर्य ऊर्जा आयोजनाहरू विभिन्न चरणमा रहेका उनको भनाइ छ । ‘हाम्रो उद्देश्यले हाइड्रोपावर र क्लिन इनर्जी उत्पादन गर्ने नै हो,’ उनी भन्छन्, ‘भविष्यमा ठूला र जलाशययुक्त जलविद्युत् आयोजना विकास गर्ने लक्ष्य राखेका छौं ।’ उनका अनुसार, आधुनिक प्रविधिको प्रयोग गर्दै कम्पनीले ’एआई डटा सेन्टर’ को क्षेत्रमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ, जसले कम्पनीलाई प्रविधिमैत्री ऊर्जा उत्पादनमा अगाडि बढाउने देखिन्छ ।

भावी योजना र चुनौती

विगतमा केही नीतिगत र वातावरणीय चुनौतीका कारण केही आयोजनाहरू (दूध खोला, नार खोला आदि) बाट पछि हटेको भए तापनि कम्पनीले अब ठूला र जलाशययुक्त आयोजनामा ध्यान केन्द्रित गरेको छ । विशेषगरी कर्णाली क्षेत्रमा २०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना र अन्य ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिका आयोजनाहरूलाई प्राथमिकतामा राख्ने कम्पनीको रणनीति छ ।
निष्कर्ष, सीईडीबी होल्डिङ्सको छत्रछायाँमा रहेको सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नेपालको ऊर्जा संकट समाधान र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । स्वच्छ ऊर्जाको पहिचान, अध्ययन र निर्माणमा यसले देखाएको सक्रियताले आगामी दिनमा नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउन थप सहयोग पुग्ने देखिन्छ ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ