बीमा क्षेत्रमा महिला ग्राहकको पहुँच बलियो, नेतृत्व तहमा भने पुरुषकै वर्चस्व

Nov 03, 2026 05:46 AM Merolagani



नेपालको बीमा क्षेत्रमा ग्राहकका रूपमा महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिए पनि बीमा कम्पनीहरूको सञ्चालक समिति र उच्च व्यवस्थापन तहमा भने पुरुषकै वर्चस्व कायम रहेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको लैंगिक समावेशितासम्बन्धी अध्ययन प्रतिवेदनले बीमा बजारमा महिला सहभागिता र संस्थागत नेतृत्वबीच ठूलो अन्तर रहेको देखाएको हो।

नेपाल बीमा प्राधिकरणले ‘एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभ’ (A2ii) को ‘फेमा-मिटर’ (Fema-Meter) ढाँचामा आधारित रहेर तयार पारेको उक्त अध्ययन ३५ वटा अनुमतिप्राप्त बीमा कम्पनीमा गरिएको हो। अध्ययनमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनी सहभागी थिए।

जीवन बीमामा महिला ग्राहकको संख्या बढी

प्रतिवेदनअनुसार परम्परागत जीवन बीमाका कुल पोलिसीधारकमध्ये ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष छन्। बीमित जीवनको संख्याका आधारमा पनि महिलाको हिस्सा ५८ प्रतिशत र पुरुषको ४२ प्रतिशत रहेको छ।

लघु जीवन बीमामा महिलाको सहभागिता अझ बढी छ। यस क्षेत्रमा कुल बीमितमध्ये ६२ प्रतिशत महिला र ३८ प्रतिशत पुरुष रहेका छन्।

तर, बीमा सहभागिताको संख्यात्मक अवस्था र प्रिमियम भुक्तानीको आकारमा भने फरक देखिएको छ। जीवन बीमामा पुरुषले औसत ४२ हजार ५९२ रुपैयाँ प्रिमियम भुक्तानी गर्दा महिलाले औसत २१ हजार ५४ रुपैयाँ मात्रै तिर्ने गरेका छन्।

त्यस्तै, दाबी गर्ने सम्भावना पुरुषमा ३.८ प्रतिशत र महिलामा १.८ प्रतिशत रहेको छ। यसले जीवन बीमामा महिला ग्राहकको संख्या बढी भए पनि औसत प्रिमियम भुक्तानी र दाबीसम्बन्धी सूचकमा लैंगिक अन्तर रहेको देखाउँछ।

निर्जीवन बीमामा महिला सहभागिता कमजोर

जीवन बीमाको तुलनामा निर्जीवन तथा लघु निर्जीवन बीमामा महिलाको पहुँच कमजोर देखिएको छ।

लघु निर्जीवन बीमाअन्तर्गत साना व्यवसाय बीमाका कुल पोलिसीधारकमध्ये ५९ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन्। बाँकी २५ प्रतिशतको लैंगिक विवरण खुल्न नसकेको प्रतिवेदनमा उल्लेख छ।

बीमितको संख्याका आधारमा पनि पुरुषको हिस्सा ६६ प्रतिशत र महिलाको १७ प्रतिशत रहेको छ। यस क्षेत्रमा लैंगिक विवरण व्यवस्थित रूपमा संकलन नगरिएको अवस्थाले महिला सहभागिताको वास्तविक चित्र पहिचान गर्न कठिन बनाएको छ।

विशेषगरी महिला उद्यमी, साना व्यवसायी तथा कृषकलाई लक्षित बीमा योजनाको आवश्यकता यस अध्ययनले औंल्याएको छ।

सञ्चालक समिति र उच्च व्यवस्थापनमा महिलाको उपस्थिति न्यून

बीमा बजारमा महिलाको ग्राहक सहभागिता उत्साहजनक भए पनि कम्पनीको निर्णय प्रक्रिया र नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व निकै कम छ।

जीवन बीमा कम्पनीहरूको सञ्चालक समितिमा ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला छन्। कार्यकारी व्यवस्थापन अर्थात् प्रमुख कार्यकारी अधिकृत र उनीहरूअन्तर्गतका प्रत्यक्ष जिम्मेवार पदमा ८७ प्रतिशत पुरुष हुँदा महिलाको प्रतिनिधित्व १३ प्रतिशत मात्रै छ।

त्यस्तै, जीवन बीमा कम्पनीहरूको व्यवस्थापक तहमा ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला छन्।

निर्जीवन बीमा कम्पनीहरूको सञ्चालक समितिमा ८१ प्रतिशत पुरुष र १९ प्रतिशत महिला रहेका छन्। कार्यकारी व्यवस्थापन तहमा पनि पुरुषको हिस्सा ७८ प्रतिशत र महिलाको २२ प्रतिशत छ।

यसले बीमा क्षेत्रमा महिलाको सहभागिता ग्राहक र बजार परिचालनमा विस्तार भए पनि नीति निर्माण तथा नेतृत्व तहमा समान प्रतिनिधित्व स्थापित हुन नसकेको देखाउँछ।

अभिकर्तामा महिलाको सहभागिता उल्लेख्य

उच्च व्यवस्थापनमा महिलाको प्रतिनिधित्व कमजोर भए पनि बीमा अभिकर्ताका रूपमा भने उनीहरूको सहभागिता उल्लेख्य छ।

प्रतिवेदनअनुसार जीवन बीमाका इजाजतपत्र प्राप्त अभिकर्तामध्ये ४४ प्रतिशत महिला छन्। लघु जीवन बीमामा महिला अभिकर्ताको हिस्सा ४६ प्रतिशत र लघु निर्जीवन बीमामा ४४ प्रतिशत रहेको छ।

यसले बीमा सेवा विस्तार तथा ग्राहकसम्म पहुँच पुर्‍याउने काममा महिलाको भूमिका महत्वपूर्ण रहेको देखाउँछ। तर, बजारमा सक्रिय महिलालाई क्रमशः व्यवस्थापन र नेतृत्व तहसम्म पुर्‍याउने चुनौती भने कायमै छ।

समान अवसरको नीति भए पनि पारिश्रमिक समीक्षाको अभाव

अध्ययनले बीमा कम्पनीहरूको आन्तरिक नीतिमा पनि लैंगिक समानताको अवस्था विश्लेषण गरेको छ।

अध्ययनमा सहभागी जीवन तथा लघु जीवन बीमा कम्पनीहरूले समान अवसरसम्बन्धी रोजगार नीति लागू गरेको जनाएका छन्। तर, लैंगिक आधारमा पारिश्रमिक पुनरावलोकन गर्ने अभ्यास भने कुनै पनि कम्पनीमा नरहेको प्रतिवेदनले देखाएको छ।

नीतिगत रूपमा समान अवसरको व्यवस्था भए पनि त्यसको कार्यान्वयन, पारिश्रमिक समानता र महिलाको वृत्ति विकासका अवसरबारे थप अध्ययन तथा सुधार आवश्यक रहेको देखिन्छ।

लैंगिक समानताका लागि प्राधिकरणका सुझाव

बीमा क्षेत्रमा लैंगिक समावेशिता विस्तार गर्न प्राधिकरणले विभिन्न सुझाव दिएको छ। सबै बीमा कम्पनीमा मानक लैंगिक प्रतिवेदन प्रणाली लागू गरी महिला र पुरुषको सहभागितासम्बन्धी छुट्टाछुट्टै तथ्यांक संकलन गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।

त्यस्तै, महिला नेतृत्व विकास, तालिम, मेन्टरिङ तथा पदोन्नतिमा समावेशी नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ।

निर्जीवन बीमामा महिला उद्यमी, साना व्यवसायी तथा कृषकलाई लक्षित सुलभ बीमा योजना ल्याउन र महिलाको वित्तीय तथा बीमा साक्षरता अभिवृद्धि गर्न पनि सुझाव दिइएको छ।

समग्रमा अध्ययनले नेपालको बीमा क्षेत्रमा महिलाको ग्राहक सहभागिता विस्तार भए पनि त्यसअनुरूप संस्थागत नेतृत्वमा प्रतिनिधित्व बढ्न नसकेको देखाएको छ। बीमा कम्पनीहरूमा महिला ग्राहकको संख्या बढ्नु सकारात्मक भए पनि उनीहरूलाई निर्णय प्रक्रिया, व्यवस्थापन र नेतृत्व तहसम्म पुर्‍याउनु अबको महत्वपूर्ण चुनौती देखिएको छ।